काठमाडौं – संविधान पुर्नेलखनको माग गर्दै आन्दोलन शुरु गरेको संघीय गठबन्धनले मंगलबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको छ ।
प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । अहिले त्यहाँको स्थिति तनावग्रस्त भएको छ ।
भाटभटेनीदेखि झाँकीसहित सुरु भएको र्याली प्रधानमन्त्रीको निवास अगाडि बढे पनि सुरक्षाकर्मीहरुले राष्ट्रबैंक चोक नपुग्दै रोकेका थिए । सरकारविरुद्ध नाराबाजी गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच केहिबेर धकेला धकेल भएको थियो ।
प्रदर्शनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सुरक्षा ब्यवस्था कडा पारेको छ । बालुवाटार क्षेत्रलाई प्रहरीले चार स्थानबाट घेरा हालेको छ ।
दक्षिणमा राष्ट्र बैंक, उत्तरमा पवित्र वर्कसप र पश्चिममा सभामुख निवासभन्दा एक सय मिटर अगाडिसम्म सुरक्षाकर्मी बसेर प्रदर्शन गर्न निषेध गरिएको छ । पूर्वी गेट तर्फ पनि उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
गठबन्धनले आइतबार र सोमबार सिंहदरबार घेराउ गरेको थियो ।
तपाईको प्रतिक्रिया