काठमाडौं – नेपाली सेनाले सैनिक श्रीमती संघद्वारा सैनिक मञ्च टुँडिखेलमा भएको नृत्य कार्यक्रममा भाग लिन आएका भारतीय अभिनेत्रीको स्वागतमा नभई सुरक्षा अनुमगनमा सैनिक अधिकृत खटिएको स्पष्ट पारेको छ ।
सैनिक जनसम्पर्क निर्देशनालयले सोमबार विज्ञत्ति निकालेर कलाकारको स्वागतमा सैनिक श्रीमती संघका पदाधिकारी तथा कार्यक्रम व्यवस्थापकका प्रतिनिधिहरु नै उपस्थित भएको स्पष्ट पारेको छ ।
विमानस्थलमा सैनिक पोशाकामा पुगेका जर्नेल समिर शाही स्वागतका लागि नभई सुरक्षा व्यवस्थाको अवलोकनका लागि विमानस्थल पुगेको सेनाले दावी गरेको छ ।
निर्देशनालयको विज्ञप्तिमा लेखिएको छ ‘महत्वपूर्ण व्यक्तिहरुको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सुरक्षा व्यवस्था अवलोकनको साथै विमानस्थलमा उपस्थित शुभेच्छुक एवं समर्थकहरुबाट असहज स्थिति पैदा नहोस् भन्नको लागि पनि अन्य सुरक्षा निकायको साथ साथै त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थल सुरक्षार्थ सोही स्थानमा तैनाथ नेपाली सेनाको ईन्जिनियर निर्देशनालयका अधिकृतहरु उपस्थित हुने प्रचलन रहँदै आएको छ ।
कार्यक्रमहरुमा विगतमा समेत विदेशी कलाकारहरु सहभागी हुने गरेको र सो स्तरका कलाकारहरुको आवागमन हुँदा सुरक्षा संवेदनशीलता, व्यवहारिकता र विमानस्थलको सुरक्षा चासोमा असर नपर्ने गरि सम्बन्धित सुरक्षा एवं अन्य निकायहरुसँग समन्वय गरि त्रिभुवन बिमानस्थलका उपयुक्त कक्षहरु प्रयोग गर्ने प्रचलन रहि आएको सेनाले स्पष्ट पारेको छ । आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा व्यवस्था अनुगमनको लागि जाने सैनिक व्यक्तिहरुले सैनिक पोशाक प्रयोग गर्नु स्वभाविक नै रहेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाली सेनाको व्यावसायिक मर्यादा, संस्थागत हित र नेपाली सेना विवादमुक्त रहनुपर्छ भन्ने सकारात्मक मनशायसहित प्रकाशित एवं प्रशारित समाचारहरुप्रति नेपाली सेनाले आभार व्यक्त गरेको छ ।
कार्यक्रमका लागि आएका भारतीय अभिनेत्री सोनाक्षी सिन्हा र मलाइका अरोराको स्वागतका लागि सैनिक जर्नेल शाही सैनिक पोशाकामा विमानस्थलमा उपस्थित भएको र कार्यक्रमका लगि सैनिक मञ्च उपलब्ध गराएको भन्दै सेनाको आलोचना भएको थियो ।
तपाईको प्रतिक्रिया