टोकियो-जापान सरकारद्वारा आगामी गृष्म ऋतु अघि नै मल्टिपल भिसाको ब्यवस्था गर्ने तयारी गरेको जिजी प्रेसले प्रकाशित गरेको छ । बिशेष गरी चिनिया पर्यटकहरुलाई आकर्षित गरी सन २०२० सम्ममा बार्षिक ४ करोड पर्यटक भित्र्याउने लक्ष्यका साथ यस्तो ब्यवस्था गर्न लागिएको सम्बन्धित श्रोतले जनाएको छ । जापानको पर्यटन प्रबर्धनको लागि तयार पारिएको कार्ययोजनामा भिसा सम्बन्धी सो योजना पनि समाबेश गरिएको समाचारमा जनाईएको छ । नयां कार्ययोजनामा तत्काललाई चिनिया पर्यटकहरुलाई मल्टिपल भिसाको ब्यवस्था गरिने भएपनि निकट भबिष्यमै रसियन तथा अन्य मुलुकका पर्यटकहरुलाई पनि यस्तो ब्यवस्था गर्ने जनाईएको छ ।
सन २०१५ मा जापान भ्रमणमा आएका १ करोड ९७ लाख ४० हजार पर्यटकहरु मध्ये भिसा आवश्यक परेका चिनिया, रसियन, इण्डियन, फ़िलिपिनी र भियतनामी नागरिकहरु ५६ लाख १० हजार जना रहेको तथ्यांकमा उल्लेख गरिएको छ । जापान सरकारले चिनिया नागरिकहरुको भिसाको बारेमा पछिल्लो २ महिना भित्रमा बिभिन्न निर्णयहरु गरेको छ । जसमध्ये मल्टिपल भिसाको लागि इलिजिबिलिटी प्रक्रिया सहज गर्ने, मल्टिपल भिसाको अवधीलाई ५ बर्षबाट बढाएर १० बर्ष गर्ने, भिसा आवेदन प्रक्रियामा सहज गर्ने आदि रहेका छन । उक्त योजना आगामी गृष्मबाट नै लागु गर्ने तयारी रहेको बताईएको छ । सरकारले रसियनहरुको लागि पनि ३ बर्षबाट ५ बर्षको भिसा लिन सहज बनाएको बताईएको छ । यस्तै गरी इण्डियन बिद्यार्थीहरुको लागि पनि भिसा आवेदन प्रकृया सजिलो गर्ने जापान सरकारको योजना रहेको समाचारमा जनाईएको छ ।