टोकियो – घुम्टे नौमती बाजा समुहले टोकियोमा आइतवार लाइभ साँगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारहरु कालिका रोका, मदन थापा र सबिना गुरुङको बिशेष साँगीतिक प्रस्तुती रहेको थियो भने जापानमै रहेका चर्चित कलाकारहरु युवराज आचार्य, सूर्य खड्का, बिनोद भण्डारी, प्रदिप कार्की, पदम खत्री लगायतले कार्यक्रममा थप रौनकता प्रदान गरेका थिए ।
यसैगरी कार्यक्रममा घुम्टे नौमती बाजा समुहको पञ्चेबाजा र चौतारी ब्याण्डको लाइभ साँगीतिक प्रस्तुती अर्को आकर्षण बन्न पुगेको थियो ।
प्रमुख अतिथि नेपाली दूतावासका द्वितीय सचिव टोपनारायण गिरीले कार्यक्रम सफलताको कामना गर्दै प्रवासमा रहेर पनि नेपाली कला र सँस्कृतिको संबर्द्धन र संरक्षण गर्नमा घुम्टे नौमती बाजा समुहले गर्दै आएको प्रयास सह्रानीय रहेको धारणा ब्यक्त गर्नुभएको थियो ।
नेपालमा महाभूकम्प गएको ठिक एक वर्ष गांठ परेकोले कार्यक्रममा भूकम्पमा परी ज्यान गुमाउने हजारौं नेपालीहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै १ मिनेट मौनधारणबाट कार्यक्रम सुरु गरिएको थियो ।
कार्यक्रममा नेपालबाट आएकी गायिका कालिका रोका, सबिना गुरुङ, मदन थापाको प्रस्तुतीका साथै स्थानीय कलाकर्मीहरुको साँगीतिक प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । कार्यक्रमको अन्तमा गायिकाद्वय कालिका र सबिनासंग गायकद्वय मदन र सूर्यवीच चलेको दोहोरीको भिडन्तमा दर्शकहरु धित मरुन्जेल नाचेका थिए । दोहोरीको एक झलक भिडियोमा :
आयोजक संस्था घुम्टे नौमती बाजा समुहका अध्यक्ष चन्द्रबहादुर खत्रीको सभापतित्वमा भएको सो साँगीतिक समारोहमा गायकसमेत रहेका कार्यक्रम संयोजक सूर्य खड्काको स्वागत मन्तब्य रहेको थियो भने पिताम्बर चापागांई र हेमन्त खत्रीको सञ्चालन रहेको थियो ।
राष्ट्रियगानबाट प्रारम्भ गरिएको साँगीतिक कार्यक्रममा कलाकारहरुलाई खादार्पण गरी स्वागत गरिएको थियो भने अन्तमा प्रशंसा पत्रले सम्मान गरिएको थियो ।
नेपाली समुदायलाई लक्षित गरी पछिल्ला दिनहरुमा जापानमा महिनामै थुप्रै साँगीतिक कार्यक्रमहरु हुने भए पनि पुरै बाद्यबादन सहित लाइभ कार्यक्रम भने विरलै हुने गर्दछ । आइतवार भएको घुम्टे नौमती बाजाको लाइभ साँगीतिक साँझ त्यसैको एउटा नमुना बन्न पुगेको थियो । नायोयाबाट आमन्त्रित चौतारी ब्याण्डका मनु थापा, उत्तम विक, राज प्रसाई, खड्क पुन र सरोज लामाले हार्मोनियम, तबला, सारङगी, मादल, गितार, बाँसुरी, प्याड लगायतका बाजाहरु लाइभ प्रस्तुत गरेको सो कार्यक्रममा फरक अनुभूत गर्दै दर्शकहरुले भरपुर साँगीतिक रसस्वादन गरेका थिए ।
कार्यक्रम दिपसुन फुड्स प्रालिको मुख्य प्रायोजन र जेनिथ रेमिट र हरि ओम कंपनीको सहप्रायोजनमा भएको थियो । कार्यक्रमलाई अन्य दर्जनौ ब्यवसायीहरुले पनि प्रायोजन गरेका थिए । ***