टोकियो–‘विश्व संरक्षणको लागि वातावरण संरक्षण र एचआईभी एड्सको लागि जनचेतना’ भन्ने नाराका साथ साइकल यात्रामा निस्केका पोखराका तीनजना युवाहरु जापान आइपुुगेका छन् । ५ वर्षमा १०० देशको साइकल यात्रा गर्ने लक्ष्यका साथ हिडेका तीन युवा शंकर पौडेल, अमृत वराल र अतिज बरालले हालसम्म १४ देशको साइकल यात्रा पुरा गरेको समुद्रपारिलाई बताए ।
भारत, मालदिप्स, श्रीलंका, म्यानमार, थाईल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, ब्रुुनाई, सिंगापुर, मलेसिया, ताईवान लगायतका देशको भ्रमण गरिसकेका साइकल यात्रुु युवाहरु जापान पश्चात कोरिया हुँदै अन्य देशको यात्रा तय गर्ने बताउँछन् । हाल जापान भ्रमणमा रहेका साइकल यात्रीहरूको सहयोग संकलनको लागि कास्की पोखरा समाजले पहल गरिरहेको समाजका सल्लाहकार ईश्वर गुरूङले बताउनुभयो । साइकल यात्राको सफलताकाे कामना गर्नुहुने सहयोगी मनहरूले सहयोगको लागि कास्की पोखरा समाजमा सम्पर्क गर्न पनि गुरूङले अनुरोध गर्नुभएको छ ।***