टोकियो– विहीबार मात्रै शक्तिशाली भूकम्प गएको जापानमा फेरि शनिवार राती १ बजेर २६ मिनेटमा पुनः ७ दशमलव ३ म्याग्निच्युुडको भूकम्प गएको छ । जापानको क्यूसु क्षेत्रको कुमामोतो केन्द्रविन्दु बनाएर गएको भूकम्पले एक जनाको मृत्युभएको छ भने अन्य सयौं घाइते भएका छन् । त्यसाे त विहीवारकाे भूकम्पमा परी ९ जनाकाे मृत्यु भएकाे थियाे भने सयाैं घाइते भएका थिए ।
भूकम्प पश्चात पराकम्पनका धक्काहरु गईरहेकोले जापान सरकारले उक्त क्षेत्रमा रहेका नागरिकहरुलाई सतर्क रहन पनि निर्देशन दिएको छ भने तीब्र गतिमा उद्दार गरिरहेकाे छ ।
मध्यरातमा गएको भूकम्पले गर्दा घरबाहिर रात विताउन निकै कठिन भएको भूकम्प पीडितहरुले बताएका छन् । जापानको मौसम विभागका अनुसार उक्त क्षेत्रमा भारी वर्षा हुने अनुमान गरिएकाेले थप सतर्क रहन भनिएको छ ।
जापानस्थित नेपाली दूतावासले पनि उक्त क्षेत्रमा रहेका नेपालीहरूलाई सतर्क रहन र समस्या परेकाे खण्डमा दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ । उक्त क्षेत्रमा उल्लेख्य नेपालीहरूकाे बसाेबास रहेकाे तर नेपालीहरू खासै प्रभावित नभएकाे बताईएको छ । एक रेष्टुरेन्ट व्यवासयीकाे रेष्टुरेन्टमा सामान्य क्षति पुगेकाे र एकजना सामान्य घाइते भएको समाचार छ । कुमामाेताे नजिकै रहेकाे फुकुअाेकामा बस्ने नेपालीहरू पनि भूकम्पबाट त्रसित बनेकाे अजय सिंहले समुद्रपारिलाई बताए । भूकम्पकाे खासै अनुभव नगरेका उनी र उनका परिवार भूकम्पकाे झड्काबाट निकै अात्तिएकाे उनले बताए । ***