सांगीतिक माहौलमा झूमे रुपन्देहीबासीहरु
टोकियो – पुरानो वर्षलाई बिदाई गर्दै नयाँ वर्ष२०७३ को आगमनमा टोकियोमा एक साँगीतिक कार्यक्रमसहित शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ नयाँ वर्ष मनाईएको छ ।
रुपन्देही समाज जापानले जापानमा रहेका नेपालीहरुबीच नयाँ वर्षको शुभकामना आदानप्रदान गर्ने र पारस्परिक सहयोग र सम्बन्ध एवं भाइचारामा अभिबृद्धि गर्दै जाने उद्देश्यका साथ नयाँ वर्ष कार्यक्रमको आयोजना गरेको हो ।
समाजका अध्यक्ष पशुपति गिरीको सभापतित्वमा भएको सो कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि, ब्यवसायी, समाजसेवी, बिद्यार्थी, सञ्चारकर्मी, कलाकार लगायत सर्बसाधारणको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा समाजका उपाध्यक्ष पुनम न्यौपाने घिमिरे, सल्लाहकार तथा ब्यवसायी ध्रुव बस्नेत, म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानका अध्यक्ष महेन्द्र बानिया, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, नेपाली राजदूतावासका द्वितीय सचिव टोपनारायण गिरी लगायतले नयाँ वर्षको शुभकामना मन्तब्य राख्नुभएको थियो । शुभकामना मन्तब्य दिनेहरुले २०७२ मा नेपालीहरुले जति पीडा भोग्नुपरे पनि अबको वर्ष सुखद र उपलब्धीको वर्ष साबित हुन सकोस् भन्ने कामना गर्नुभएको थियो ।
राष्ट्रियगानबाट सुरु भएको सो नयाँ वर्ष कार्यक्रममा समाजका सदस्य खडक बस्नेतको स्वागत मन्तब्य रहेको थियो ।
कार्यक्रमको दोस्रो चरणमा आकर्षक साँगीतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । टोकियो रोधी क्लवमा भएको सो कार्यक्रममा स्थानीय कलाकारहरु सूर्य खड्का, बिनोद भण्डारी र राजकुमार लामिछानेको साँगीतिक प्रस्तुतीमा दर्शकहरु झुमेका थिए । यसैगरी रोधी क्लवका कलाकारहरु सञ्जय गुरुङ, शान्तिश्री परियार, देवराज आले मगर, शिला गुरुङ र सलिना नेपालीले पनि आकर्षक साँगीतिक प्रस्तुतीहरु पस्केर कार्यक्रममा थप रौनकता प्रदान गरेका थिए ।
कार्यक्रममा स्थानीय कलाकारहरु निरा, संगिता, निशा र गोमाले पनि नृत्य प्रस्तुत गरेका थिए भने हाल जापानमै रहेका हास्यकलाकार शंकर सुलेमान ‘इकु’ को हास्य प्रस्तुती रहेको थियो ।
कार्यक्रमको अन्त्यमा सभापतीको आसनबाट बोल्दै समाजका अध्यक्ष पशुपति गिरीले नयाँ बर्षको शुभकामना ब्यक्त गर्नुका साथै कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने सबैमा धन्यबाद ब्यक्त गर्नुभएको थियो ।
एक वर्ष अगाडि मात्र स्थापना भएको रुपन्देही समाज जापानले रात्रीभोज र आकर्षक साँगीतिक कार्यक्रम सहित हर्षोल्लासका साथ नयाँ वर्ष मनाएको हो ।
सयौं नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको नयाँ वर्ष कार्यक्रमको पहिलो औपचारिक चरणमा समाजका महासचिव काशीराम न्यौपानेको र दोस्रो साँगीतिक चरणमा हेमन्त गिरीको सञ्चालन रहेको थियो । तस्विर : लवकुमार बुढाथोकी/समुद्रपारि ***