Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

छुट्टै दुर्घटनामा एकको मृत्यु
नुवाकोट – पासाङल्हामु राजमार्ग अन्र्तगत त्रिशूली–काठमाडौँ सडक खण्डको मदानपुरमा दुर्घटना हुँदा ज्यान गुमाउने नौ जनाको सनाखत भएको छ ।

शनिबार अपराह्न काठमाडौँबाट त्रिशूलीतर्फ आउँदै गरेको बा१ज ७५८३ नं को माइक्रोबस मदानपुर–८ केउरिनीको भिरबाट २०० मि तल खसेको थियो । दुर्घटनामा ११ जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा नेपाली सैनिकतर्फ सात जना रहेको सैन्य तालिम केन्द्र त्रिशूलीले पुष्टि गरेको छ । दुर्घटनामा चालक र तीन सर्वसाधारणको समेत ज्यान गएको छ । सैन्य तालिम केन्द्र त्रिशूलीमा तालिमरत ओखलढुङ्गा सिंहदेवी–८ की रमिता बुथाथोकी, ओलखढुङ्गा रानीवनकी सन्तोषी बोगटी, रामेछाप मन्थलीकी लक्ष्मी श्रेष्ठ र ओखलढुङ्गा बिलदबुकी मञ्जु मिश्र रहेका छन् । त्यस्तै मुना खत्री, ईश्वर कार्की र केदार अधिकारीको पनि मृत्यु भएको तालिम केन्द्र त्रिशूलीका प्रमुख केन्द्रपति रामकृष्ण थापाले जानकारी दिनुभयो । सेनाले सबैको पूरा ठेगाना र उमेर भने सार्वजनिक गरेको छैन ।

यस्तै माइक्रोबस चालक नुवाकोट बेलकोट–२ का २२ वर्षीय दामोदर कँडेल र यात्रु देउराली–८ का ५५ वर्षीय सिंहबहादुर तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त बसमा १८ सैनिक, तीन सर्वसाधारण तथा चालक र सहचालक गरी २३ जना सवार थिए । दुर्घटनामा परी घाइते १० सैनिक र सहचालकको राजधानीको ट्रमा सेन्टर र सैनिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । केही सञ्चारमाध्यमले मृतक भनी नाम सार्वजनिक गरेको सैनिक यशोदा कार्कीको उपचार भइरहेको सेनाले जनाएको छ । यस्तै अमृता कार्की, दिलकुमारी खड्का, रुपा घोरासैनी, दीपा दाहाल, धनमाया घर्ती, झलक सुवेदी, शुभराज खत्री, सञ्जीव ग्वाछा, गोविन्द खनाल, सन्देश बराम र सहचालक समीर थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, मदानपुरमा आज मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

त्रिशूली बजारबाट कुखुरा लिएर काठमाडौँ गइरहेको बा३ख ६३४५ नंको मिनी ट्रक मदानपुर गाविसको बाराहीमा दुर्घटना हुँदा चालक देउराली गाविस–८ का सेलकर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सिद्धिविक्रम शाहले बताउनुभयो । दुर्घटनामा अन्य दुई जना घाइते भएको र तिनको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको छ । एघार जनाको ज्यान जाने गरी शनिबार भएको माइक्रोबस दुर्घटना भएको ठाउँदेखि ३०० मि अगाडि सो दुर्घटना भएको हो । मिनी ट्रक सडकबाट करिब ३० मि तल खसेको छ ।

तपाईको प्रतिक्रिया