Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

साउदी अरब– पछिल्लो समय नेपाली कामदारका लागि प्रमुख श्रम गन्तव्य बनेको साउदी अरबमा दैनिक सरदर एक नेपालीको मृत्यु हुने गरेको छ । रियादस्थित नेपाली दूतावासको तथ्याङ्कअनुसार साउदीमा दैनिक औसत एक नेपालीको मृत्यु हुने गरेको देखिएको हो ।

दूतावासका अनुसार सन् २०१५ मा वैदेशिक रोजगारीका लागि साउदी अरब आएका २७७ नेपालीले विभिन्न कारणले ज्यान गुमाएका छन् । यसमा प्राकृतिक मृत्यु बढी देखिएको छ । दूतावासले दिएको यो तथ्याङ्क अघिल्लो वर्ष २०१४ को तुलनामा ४८ जनाले बढी हो । सन् २०१४ मा २२९ नेपालीले विभिन्न कारणले ज्यान गुमाएका थिए ।

सन् २०१५ मा ज्यान गुमाएकामध्ये सबैभन्दा बढी १४८ जनाको प्राकृतिक मृत्यु भएको थियो । यसमा हृदयाघात, मस्तिष्क पक्षाघात, ओछ्यानमै ज्यान जानेलगायत कारण रहेका छन् ।

यस्तै, सडक दुर्घटनाका कारण ज्यान गुमाउने नेपालीको सङ्ख्या पनि कम छैन । त्रिहत्तर जनाको सडक दुर्घटनामा परी ज्यान गएको छ भने ३२ को कार्यस्थलमै दुर्घटनामा परी मृत्यु भएको तथ्याङ्कले देखाएको छ । त्यस्तै २१ जनाले आत्महत्या गरेका छन् । तीन नेपालीको विदेशी नागरिकबाट हत्या भएको दूतावासले जनाएको छ ।

ओछ्यानमै ज्यान जाने, हृदयाघात, मस्तिष्क पक्षाघातलगायत कारण बढी मात्रामा नेपालीको मृत्यु हुने गरेको पाइएको साउदीका लागि कावा राजदूत आनन्दप्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार कामको प्रकृतिअनुसार सुरक्षा सर्तकता नअपनाउनु, खानपानमा ध्यान नदिनु, अत्यधिक मदिरापान गर्नु, वातावरणीय प्रतिकूलता, चेतनाको अभाव र सुरक्षा सर्तकता अपनाउन नसक्दा नेपाली कामदारको मृत्युदर बढेको हो ।

साउदीमा एकातिर नेपाली कामदारको मृत्युदर बढ्दो छ, भने अर्कोतर्फ मृत्यु भएका नेपालीको शव फिर्ता पठाउनसमेत महिनौँ लाग्ने समस्या रहेको छ । रोजगारदाताको बेवास्ता र यहाँको झन्झटिलो कानुनी प्रक्रियाका कारण ज्यान गुमाएका नेपालीको शव स्वदेश पठाउन ढिलाइ हुने गरेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया