Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनबाट प्रभावित तराई मधेसका केही जिल्लामा नेपाली काँग्रेसको आशन्न १३औँ महाधिवेशनको निर्वाचन तालिकामा कुनै फेरबदल नहुने भएको छ ।

बन्द, हडतालले तराईका केही जिल्लामा पार्टीको अधिवेशन कार्यक्रममा अवरोध हुनसक्ने र निर्वाचन तालिका केही दिन पर सर्नसक्ने अडकलबाजीकाबीच पार्टीले तोकिएको मितिमा नै सबै निर्वाचन तालिका सम्पन्न हुनेगरी तयारी थालेको छ । केन्द्रीय समितिले यसअघि तय गरेको निर्वाचन तालिकामा कुनै फेरबदल नहुने र तोकिएको मितिमा सबै निर्वाचन सम्पन्न हुने काँग्रेस प्रचार विभाग प्रमुख डा मीनेन्द्र रिजालले बताउनुभयो ।

काँग्रेसको गाउँ, नगर, वडा अधिवेशन यही माघ १५ गते हुँदैछ भने कुनै नगर र वडा अधिवेशन एकैदिन गर्न असुविधा भए नगर अधिवेशन माघ १६ गते गर्न सकिने व्यवस्था गरिएको छ । त्यस्तै, क्षेत्रीय अधिवेशन यही माघ २२ गते र जिल्ला अधिवेशनका लागि माघ २५ गते मिति तोकिएको छ । केन्द्रीय महाधिवेशन भने आगामी फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ । मोरङको रङ्गेलीमा केही दिनअघि आन्दोलनमा प्रहरीको गोली लागी तीनजनाको मृत्यु भएपछि मधेसका केही जिल्लामा मोर्चाले प्रमुख दलका कार्यक्रम गर्न नदिने हल्ला भएपनि मोर्चाले भने केन्द्रीयस्तरमा त्यस्तो कुनै नीति र कार्यक्रम नभएको जनाएको छ । तराईका जिल्लामा मोर्चाको केही अवरोध भएपनि अधिवेशनका कार्यक्रम तोकिएको मितिमा नै हुने आन्दोलनबाट बढी प्रभावित पूर्वी तराईका आठ जिल्लाका काँग्रेस सभापतिको भनाइ छ । “गाउँमा मोर्चाको खासै अवरोध छैन, जिल्ला अधिवेशनका निर्वाचन समयमै हुन्छन्–” धनुषा काँग्रेसका सभापति रामसरोज यादवले भन्नुभयो ।

पूर्वी तराईमा निर्वाचन तोकिएको मितिमै भए पनि अधिवेशन भूमिगतरुपमा हुने पर्सा काँग्रेसका सभापति सुरेन्द्रप्रसाद चौधरीको भनाइ छ । बारा काँग्रेसका सभापति राधेचन्द्र यादवले गाउँमा सुरक्षा नभएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो– “गाउँका सबै प्रहरी चौकी सदरमुकाम सारिएका छन् ।” त्यस्तै, व्यवस्थापिका–संसद्ले आन्दोलनरत मोर्चाका माग सम्बोधन गर्न शनिबार नेपालको संविधानमा पहिलो संशोधन गरेपछि मोर्चाको आन्दोलनको स्वरुप फेरिने र तराईको समस्या समाधानतिर अघि बढ्ने जिल्ला सभापतिहरुले अपेक्षा गर्नुभएको छ ।

काँग्रेसले तोकिएको मितिमा नै अधिवेशन गर्न सबै जिल्लामा निर्वाचन अधिकृत खटाइसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले बताउनुभयो । समितिको शुक्रबार बसेको बैठकले सबै जिल्लाका निर्वाचन अधिकृतको सूचीलाई अन्तिमरुप दिएको थियो । समितिले देशभरका तीन हजार १६५ गाविस र २१७ नगरपालिकाका तीन हजार ९० निर्वाचन केन्द्रमा निर्वाचन गराउन एक ठाउँमा कम्तीमा तीनजनाका दरले नौ हजारभन्दा बढी निर्वाचन अधिकारीको आवश्यकता पर्ने र सोहीअनुसार जनशक्ति खटाउने जनाएको छ ।

काँग्रेसको हरेक नगरपालिकाको वडा तहमा, गाविसको गाविस तहमा, निर्वाचन क्षेत्र र जिल्ला तहमा अधिवेशन भई कार्यसमिति गठन हुन्छ । पार्टीमा १३औँँ महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य सङ्ख्या चार लाख ७० हजार ६५५ कायम भएको छ ।

तपाईको प्रतिक्रिया