काठमाडौँ– नेपाली काँग्रेसमा देखिएको गुट उपगुटको खिचातानीले नयाँ क्रियाशील सदस्यताको आवेदन भरेका सात हजार भन्दा बढी सदस्य आसन्न १३ औँ महाधिवेशनको चुनावी प्रक्रियामा भाग लिनबाट वञ्चित हुने भएका छन् ।
काँग्रेसमा सभापति सुशील कोइराला (संस्थापन) र वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष पार्टीमा आफ्नो वर्चस्व कायम राख्न क्रियाशील सदस्यता बढाउने होडमा लाग्दा नयाँ क्रियाशील सदस्यताको फाराम भरेका सात हजार ४९४ सदस्य त्यो अवसरबाट वञ्चित हुन लागेका हुन् ।
क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न पार्टी पदाधिकारी बैठकले पछिल्लो पटक गरेको निर्णयअनुसार कैलालीमा करिब पाँच हजार १४४, सोलुखुम्बुका एक हजार ३५० र रौतहटका एक हजार नयाँ क्रियाशील सदस्य चुनावी प्रक्रियाबाट वञ्चित भएका छन् ।
यी तीनै जिल्लामा कोइराला र देउवा दुबै पक्षबीच सदस्यता सम्बन्धमा कडा विवाद देखिएपछि दुबै पक्षका नेता र कार्यकर्ता पार्टी कार्यालय सानेपामा अनशनसमेत बसेका थिए ।
कैलालीमा नयाँ क्रियाशील सदस्यमध्ये एकहजार ६४४ प्रक्रिया नपुर्याई आएको भन्दै देउवा पक्षले विरोध गरेको थियो भने संस्थापन पक्षले सबै प्रक्रिया पुगेको भन्दै ती सदस्यता सदर हुनुपर्ने माग गरेको थियो ।
दुबै पक्षबीच देखिएको विवाद अन्ततः शीर्ष नेतृत्वसम्म पुगेपछि ‘कि सबै सदर कि सबै बदर’को स्थितिमा पार्टी नेतृत्वले कैलालीका छ वटै निर्वाचन क्षेत्रका सबै नयाँ सदस्यतालाई हाललाई स्थगन गर्ने निर्णय गरेको थियो ।
पार्टीको यस निर्णयले संविधानसभाको दोस्रो निर्वाचनमा उल्लेख्य भूमिका निर्वाह गरेका अधिकांश युवा वर्ग, नव प्रवेशी थारु समुदाय र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काँग्रेसमा प्रवेश गरेका सदस्य मर्कामा परेको कैलाली काँग्रेसका सभापति नरनारायण शाह र पूर्व सभापति गोविन्दराज जोशी बताउनुहुन्छ ।