सिन्धुपाल्चोक– गत बैशाख १२ गतेको बिनाशकारी भूकम्पपछि क्षतविक्षत बनेको सिन्धुपाल्चोकका जनताहरुले राहत कार्यक्रमभन्दा समय सापेक्ष सीपमूलक कार्यक्रम ल्याउन सरकार लगायत दाताहरुसंग अनुरोध गरेका छन् । जिल्लामा क्रियाशील गैरसरकारी संस्थाका प्रतिनिधिसंग सिन्धुपाल्चोकका स्थानीयले राहत कार्यक्रम भन्दा सीपमूलक तालिमले दिगो प्रभाव पार्ने बताएका हुन् ।
केयर नेपाल, सामुदायिक आत्मनिर्भरता केन्द्र र महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको साझेदारीमा भूकम्पपछि सिन्धुपाल्चोक जिल्लाको प्रभावित उत्तरी तथा विकट बरुवा, बाँसखर्क, दुवाचौरलगायतका गाविसमा खाद्य सुरक्षा तथा जीविको पार्जन, खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन तथा लैङ्गिक हिंसा न्यूनीकरण र अस्थायी आवाससम्बन्धी कार्यक्रम सञ्चालन हुँदै आइरहेका छन् ।
तीन संस्थाको साझेदारीमा खाद्य सुरक्षा तथा जीविकोपार्जनका लागि भूकम्पबाट अतिप्रभावित गाविसमध्येको बरुवा, बाँसखर्क, दुवाचौर गाविसका किसानका लागि धानको बीउ, कोदोको बीउ तथा तरकारी उत्पादनका लागि आलु, केराउलगायतका बीउबिजन वितरण गरिएको र टनेल निर्माणका लागि आवश्यक सामग्री दिएको केयर नेपालका जिल्ला प्रमुख जीवन केसीले बताउनुभयो ।
महिला आत्मनिर्भरता केन्द्र मेलम्चीले समाजमा बढिरहेको लैङ्गिक हिंसा न्यूनीकरण तथा प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनले पहिलेको तुलनामा लैङ्गिक हिंसा निकै कम भएको र लैङ्गिक हिंसासम्बन्धी ज्ञान प्राप्त भएको बाँसखर्कका विद्यार्थी निर्मला श्रेष्ठ बताउनुहुन्छ ।
भूकम्पमा पुरिएका सम्पूर्ण सामग्री अहिलेसम्म निकाल्न नसकेको गुनासो गर्दै बरुवा– ९ की ७५ वर्षीया वृद्धा पिङ्गाई तामाङ भन्नुहुन्छ – “भूकम्पमा परेर ढाड र दुवै खुट्टा अहिलेसम्म राम्रोसँग चल्दैन, अन्न पुरीएपछि खाने सामग्री र पकाउने भाँडाकुँडासमेत केयर नेपाल नामक संस्थाको साझेदारीमा पाएर बाँच्ने थप हौसला दिएको उहाँको भनाइ छ ।”
संस्थाको राहत केही समयका लागि मात्र रहने भएकाले अब दिगो हुने किसिमको सीपमूलक कार्यक्रम ल्याउनुपर्नेमा बरुवावासीको भनाइ छ । संस्थाले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद दिँदै आउने दिनमा भौगोलिक अवस्था र उत्पादनको हिसाबले ठाउँअनुसारको बीउ र उत्पादनमूलक कार्यक्रम ल्याउनुपर्ने बरुवाका कृषक पासाङ लामाले बताए ।