बर्दिया– बर्दिया राष्ट्रिय निकुञ्जमा क्यामरा ट्रापिङ (क्यामराबाट तस्बिर खिचिने) प्रविधिबाट आजदेखि बाघ अनुगमन गर्न थालिएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, विश्व वन्यजन्तु कोष नेपाल र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संयुक्त रुपमा बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविक मार्ग र आसपासका क्षेत्रमा बाघको अनुगमन गरिन थालिएको निकुञ्जले जनाएको छ ।
बाघ अनुगमनका लागि आवश्यक क्यामरा र अन्य उपकरण एवम् स्थलगत सामग्री प्रकृति संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमबाट प्राप्त भएको हो । कार्यक्षेत्रमा खटिने कर्मचारी तथा प्राविधिकलाई गत पुस २५ र २६ गते आधारभूत तालिम दिइएको निकुञ्जका प्रमुख रमेशकुमार थापाले जानकारी दिनुभयो ।