मोरङ– मर्यो भनेर दुईपटक किरिया गरिसकेपछि पनि ज्युँदै फर्केर आएका मोरङको आइतबारेका एक युवकलाई नयाँ जन्म गराउन आफन्तले भकारीमा लुकाएर राखेका छन् ।
मरेको भनेर किरिया गरिसकेको मान्छेलाई त्यत्तिकै घरभित्र छिराउँदा धार्मिक दोष लाग्ने भन्दै गाउँले र धर्मशास्त्रीले दिएको सल्लाहअनुसार आफन्तले पुस २९ देखि ९ दिनसम्मका लागि कसैले नदेख्ने गरी भकारीभित्र लुकाएर राखेका हुन् ।
पथरी शनिश्चरे–५ आइतबारेका सुस्तःमनस्थितिको अपांगता भएका बोल्न नसक्ने १८ वर्षीय भूपाल अधिकारी आठ महिना पहिले अचानक हराएका थिए । त्यसको केही हप्तापछि पथरी शनिश्चरे–१ स्थित शान्ति सामुदायिक वनमा रहेको डम्पिङ साइटमा एक मानव कंकाल फेला परेको थियो । त्यो कंकाललाई नै गाउँले र आफन्तले हराएका भूपाल नै हुन् भनेर लुगाका आधारमा होमा हो मिलाउँदै पुष्टि गरेका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालय पथरीका तात्कालीन निरीक्षक रुद्र चुँडालले जलाएर नष्ट नगर्ने गरी माटोमा गाडेर मात्र अन्त्येष्टि गर्न कंकाल आफन्तको जिम्मा लगाएका थिए । त्यसपछि भूपालका ठूलो बुबा रुद्र प्रसादले पहिलोचोटि मरेको भनेर भूपालको किरिया गरेका थिए । छोराको मृत्यु भएको खवर सुनेर वैदेशिक रोजगारमा गएकी आमा मनमाया घर फर्केपछि फेरि उनले छोरा भूपालको काजकिरिया गरेकी थिइन् ।
बाबु टेकबहादुर अधिकारी सधैँ रक्सीले मातेर हिँडिरहने र घरपरिवारको समेत वास्ता गर्ने गर्दैैनन् । यसैले मर्यो भनेर दुई–दुईचोटि किरिया गरेका व्यक्ति आठ महिनापछि अचानक फर्केर आएपछि गाउँले र घरपरिवार छक्क परेका थिए । केहीले भूपाललाई भूत हो भन्दै गाउँमा बस्न दिनुहुँदैन पनि भनेका थिए । तर म¥यो भनेका भूपाल जीवित नै भएको पक्का भएपछि गाउँलेले भूपाललाई तीन दिनअघि इप्रकामा हाजिर गराएका थिए । फर्केको व्यक्ति भूपाल नै भएको पुष्टि भएपछि आफूहरुले घरमा लैजान दिएको र तत्कालको कंकाल कस्को थियो भन्नेबारे थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका निरीक्षक रमेश बस्नेतले बताउनुभयो ।
आमा मनमायाले प्रहरीबाट बुझेर भूपाललाई घर लगेपनि गाउँले र पण्डितले शुद्धशान्ति नगरी घरमा राख्न नहुने भन्दै दबाब दिएपछि आफूहरुले पनि भूपाललाई मंगलबारदेखि भकारीमा कसैले नदेख्ने गरी लुकाएर नयाँ जन्म गराउन पूजापाठ गरिरहेको नातामा हजुरबुबा पर्ने भुवनेश्वर पोखरेलले बताउनुभयो ।