Deneme Bonusu Veren Siteler
शनिबार, कार्तिक ०३, २०८१
Saturday, October 19, 2024

Galkot-Banner2
टोकियो – मौसमी तापक्रम चिसै भएपनि उसै त नयाँ वर्षको रौनकताले तातिएको माहौल त्यसमाथि तीतो सत्यका सेलिब्रेटी दिपकराज गिरी र दिपाश्री निरौलाको प्रस्तुती रहने भए पछि शनिवार टोकियोको इकेगामी खाइकानले मेलाको रुप धारण गरेको थियो । सँधै टेलिभिजनको पर्दामा देखिने अनुहारद्वय दिपक र दिपाको क्रेज त थियो नै त्यसमाथि कहलिएका पपगायक यशकुमारका फ्यानहरु पनि इकेगामीमा मनग्गे ओईरिएका थिए । कार्यक्रममा यशकुमारसंगै उनको आवाजमा लठि्ठएर झूम्मिएका तन्नेरी पुस्ताका दर्शकहरुको रोमाञ्चक उल्लास हेर्नलायक देखिन्थ्यो । त्यसमाथि सीता केसीको सुरिला लोकभाकाले कार्यक्रमलाई थप सिंगारपटार गरेको थियो ।

हलभित्र खुट्टा टेक्ने ठाउँ थिएन, सिट नपाएका दर्शकहरु पलेटीमै चित्त बुझाएर रमाईरहेका थिए । हल बाहिर दर्शकहरुको भिड उत्तिकै थियो, स्वयमसेवकहरुलाई दर्शकहरु सम्हाल्न हम्मेहम्मे परेको देखिन्थ्यो ।

’कुरुसैले बुनेको सुर्के थैली खै’ बोलको गीतमा दिपक र दिपाको आकर्षक युगल नृत्य, दीपा र दिपकको हास्य प्रहशन, सीता केसीको ’काम छैन डिग्री पास गरेर’ लगायतका बहुचर्चित गीतहरु, सूर्य खड्का, बिष्णु भण्डारी, पदम खत्री लगायतका स्थानीय प्रतिभाहरुको लोकभाका, स्थानीय संगीता क्षेत्री र प्रियङ्का चोखालको नृत्य कार्यक्रमका बिशेष खुराक बनेका थिए ।

नयाँ वर्षको बेला, इकेगामीमा साँगीतिक मेलाको संयोजन भने हरेक वर्षझैं यस वर्ष पनि गल्कोट समाज जापानले गरेको हो । गल्कोट क्षेत्रमा भिडियो एक्स-रे र एक्स-रे मेशिन लगायतका स्वास्थ्य उपकरणहरु उपलब्ध गराउने उद्देश्यका साथ जापानका प्रमुख तीन सहरहरु ओसाका, नागोया र टोकियोमा साँगीतिक धमाका भएका हुन् । जसअनुसार डिसेम्बर ३१ मा ओसाका, जनवरी १ मा नागोया र २ तारिख शनिवार टोकियोमा कार्यक्रम भएका हुन् ।
कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारीद्वारा उदघाटित नयाँ वर्ष धमाकामा उपस्थित दर्शक, स्रोता, कलाकार तथा अतिथिहरुलाई समाजको टोकियो क्षेत्रीय कमिटीका अध्यक्ष निम खड्काले स्वागत गर्नुभएको थियो भने केन्द्रिय उपाध्यक्ष समेत रहनुभएका नयाँ वर्ष धमाकाका संयोजक नरबहादुर थापाले समाजको गतिबिधि बारे प्रकाश पार्दै धन्यबाद मन्तब्य राख्नुभएको थियो । यसैगरी समाजका अध्यक्ष हर्क थापाले गल्कोट क्षेत्रको बहुआयामिक महत्वबारे प्रकाश पार्दै त्यस क्षेत्रको उत्थानका लागि जापानमा मात्र नभएर बिभिन्न राष्ट्रमा रहेका गल्कोटेहरु क्रियाशील रहेको बताउनुभयो ।

राष्ट्रिय गानबाट सुरु गरिएको सो कार्यक्रमको औपचारिक खण्डमा महासचिव भवानी पन्तको सञ्चालन रहेको थियो भने साँगीतिक चरणमा टोकियो क्षेत्रीय कमिटीका सचिव लक्ष्मण कार्कीको रहेको थियो । कार्यक्रममा साँगीतिक धमाकालाई सहयोग गर्ने प्रायोजनकर्ताहरुलाई प्रशंसा पत्रले सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा जे देखियो

कलाकारको चयनसंगै अपेक्षा गरिएभन्दा बढि दर्शक उर्लिने अनुमान धेरैको रहेको भए पनि त्यतातिर आयोजकको ध्यान पुगेको देखिएन । अगाडि झूम्मिएका दर्शकहरुका कारण पछाडि बस्ने दर्शकहरुले सहजै कार्यक्रम हेर्न पाएनन् । दर्शकको घना उपस्थितिलाई ब्यवस्थापन गर्न पुग्ने पर्याप्त स्वयमसेवकको अभाव रहेको दर्शकहरुले अनुभूति गरे । जापानको नेपाली समाजमा गल्कोट समाजले जसरी आफुलाई प्रभावशाली संस्थाकोरुपमा प्रस्तुत गर्दै आईरहेको छ त्यहीअनुरुप कार्यक्रममा स्तरोन्नती गर्दै जानुपर्ने दिग्गज दर्शकहरुले प्रतिक्रिया दिए । कार्यक्रमको स्पष्ट उद्देश्य, बिभिन्न सहरमा नियमित हुँदै आएको संयोजन एवं तारतम्य र कलाकार चयनमा देखाईएको सजगता अनुकरणीय रहेको पाईयो । एकतामा तागत छ भन्ने कुराको गल्कोटेहरुले फेरि उजागर गरेका छन्, मानवीय कार्यका लागि जुटेका गल्कोटे सहयोगी हातहरु झिनामसिना बिषयमा अल्झिन नहुने पनि नाम नबताउने शर्तमा एकजना गल्कोटे युवाले समुद्रपारिलाई बताए ।

यस्तो छ दर्शकहरुको सुझाव

बिशाल कार्यक्रममा एउटा शानदार ब्यानर भए धेरै राम्रो हुने, स्थानीय कलाकार र अतिथि कलाकारहरुलाई प्राथमिकताका आधारमा समय तय गरिनुपर्ने, उदघोषक र कलाकारहरुले धेरै नबोलिकन आफ्नो प्रस्तुती फटाफट गर्ने हो भने थोरै समयमा धेरै प्रस्तुती हेर्न सकिने, जापानको नेपाली समुदायमा हुने हरेक कार्यक्रममा सुरुदेखि अन्त्यसम्म आसनग्रहण र खादा ओढाउने प्रचलनलाई ब्यवस्थित गरिनुपर्ने, साँगीतिक कार्यक्रम हेर्न हलसम्म पुगेका दर्शक भाषण सुन्न गएका होईनन भन्ने कुरालाई हरेक कार्यक्रमका आयोजक र बिशेषगरी कार्यक्रम सञ्चालकले ख्याल गरिनुपर्ने सुझाव दिएका छन् ।

यद्यपि समग्रमा गल्कोट समाज जापानले यसपाली पनि बाजी मारेको ठहर दर्शकहरुले गरेका छन् । यो बाजीसंगै छिट्टै गल्कोटमा भिडियो एक्स- रे मेशिन लगायतका स्वास्थ्य उपकरण पुगेको हेर्ने अपेक्षा पनि उनीहरुले गरेका छन् । ***

तपाईको प्रतिक्रिया