Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – पूर्वपञ्चहरुको पार्टी एक ढिक्का गराउन भूमिगत नेताकारुपमा पूर्वराजा ज्ञानेन्द्रको सक्रियता बढ्न थालेको छ । शाही शासनकालमा तीन चिरामा विभाजित भएको पूर्वपञ्चहरुको पार्टी राप्रपालाई एक ठाउँमा ल्याउन निर्मल निवासको सक्रियता बढेको हो । तीन चिरामध्ये पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा र सूर्यबहादुर थापा नेतृत्वको राजपाबीच एकीकरण गर्ने निर्णयनुरुप आगामी वैशाख २६, २७ र २८ गते एकताको महाधिवेशन गर्ने निधो भइसकेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापा भने एकीकरणका लागि अझै सहमत भइसकेका छैनन्,तर वार्ता भने जारी छ । हिन्दु अधिराज्य स्थापना गर्ने अभियानअन्तर्गत रथयात्रा सुरु गरेका राप्रपा नेपालका अध्यक्ष थापाले चैत १ गते मात्रै पार्टी एकीकरणमा सहमति हुने वा नहुने कुराको निधो दिने जनाएका छन् । रथयात्रामा देखिने जनसमर्थनकै आधारमा निधो दिने जनाएपछि निर्मल निवास थापासंग रुष्ट बनेको छ । थापाले भारतीय जनता पार्ती अन्तर्गत रहेको राष्ट्रिय स्वयं सेवक दलको गोरखपुर ब्रान्चमार्फत सहयोग ल्याएर रथयात्राको आयोजना गरेका हुन् । भारतीय जनता पार्टीसंग आफ्नो सहयोगमा सञ्चालित राप्रपा नेपाल मुछिंदा आफूलाई अप्ठेरो पर्नसक्ने ठहर निर्मल निवासको छ ।

पछिल्लो समयमा भारतमा गएर सोनिया गान्धीसंग कुरा मिलाएर आएपछि पूर्वराजा ज्ञानेन्द्र शाह तीनवटै राप्रपा एकीकरणका लागि आफैं क्रियाशील भएका हुन । हिन्दु र संघीयताविरोधी एजेण्डा छाड्ने सेरेमोनियल राजसंस्था राख्ने गरी एउटै एजेण्डा बोक्दा सोनिया गान्धीबाट आफूलाई सहयोग हुने अपेक्षा निर्मल निवासको छ । निर्मल निवासले त्यहीअनुसार दिएको निर्देशनविपरित कमल थापाले सुरु गरेको रथयात्राप्रति पार्टीभित्रकै पद्मसुन्दर लावती, चन्द्रबहादुर गुरुङलगायतका नेताहरु रुष्ट छन् । जसका कारण पछिल्लो समयमा थापाको पार्टीलाई निर्मल निवासको आर्थिक सहयोग स्थगन भएको थाहा भएको छ । स्रोतकाअनुसार थापालाई निर्मल निवासबाट दबाब हाल्न राजेश्वर देवकोटा, ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे, जगत गौचनलगायतका नेताहरु सक्रिय भएका छन् । “ग्याङ अफ द थ्रि’ नामले चिनिने बुद्धिमान तामाङ, दिपक बोहोरा र ठाकुर शर्माबाहेक अरुको कुरा सुन्न अध्यक्ष पशुपतिशमशेर राणा तयार नभएका कारण पनि पार्टी एकीकरणका लागि दबाब परेको हो ।

वैशाखमा हुने एकताको महाधिवेशनअघि नै पार्टीभित्रको आन्तरिक विवाद टुङ्ग्याउन अध्यक्ष राणामाथि दबाब परेको छ। गत दसैंअघि अध्यक्ष राणाले एकलौटी रुपमा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन विघटन गरेपछि पार्टी भित्रको आन्तरिक विवाद बढेको हो । नेपाली काँग्रेसले यस्तै प्रकृतिको विवाद टुङ्ग्याएपछि हाम्रो पार्टीभित्र पनि टुङ्ग्याउनुपर्छ भन्दै लोकेन्द्रबहादुर चन्द लबीले दबाब बढाएको छ । उक्त दबाबअनुसार विद्यार्थी संगठनका विघटित अध्यक्ष प्रेम बलायरलाई पुनर्बहाली गर्न अध्यक्ष राणा तयार भए पनि युवक संगठनका विघटित अध्यक्ष भरत गिरीलाई पुनर्बहाली नगर्न ‘ग्याङ अफ द थ्रि’ ले अध्यक्ष राणामाथि चर्को दबाब दिएको छ ।

यसरी पूर्वपञ्चहरुको पार्टीले पूर्वराजा ज्ञानेन्द्रलाई आफ्नो भूमिगत नेता बनाउने प्रयास भईरहेको देखिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका नेताहरुको गत साता लोकेन्द्रबहादुर चन्दको निबासमा भएको एक भेलाले त्यस्तो प्रयास गरेको जानकारहरुको भनाई छ । बैठकमा संविधान नबने पनि राजतन्त्र स्थापना हुने कुनै संभाबना नरहेकाले ज्ञानेन्द्रलाई राष्ट्रपतिको उम्मेदबार बनाउन अहिलेदेखि नै प्रयास गर्ने सहमति भएको बताइएको छ । एक वर्ष भित्र पार्टी एकता गरिसक्ने गरी राजपा अध्यक्ष सूर्यबहादुर थापा संयोजक, राप्रपा अध्यक्ष पशुपति समशेर राणा सहसंयोजक र राप्रपा अध्यक्ष कमल थापा उपसंयोजक रहेको राजनीतिक निर्देशक समिति पनि गठन गरिने भएको छ । त्यसैगरी पूर्वराजा ज्ञानेन्द्रलाई यही फागुन १८ गतेबाट धार्मिक सभामा भाग लिने निहुँमा देशदौडाहामा पठाउने तयारी भएको थाहा भएको छ । फागुन १८ गतेदेखि सुनसरीको झुम्कामा शुरुहुने पुराणको शुभारम्भ पूर्वराजाबाट गरिंदै छ । पहिलो चरणको देश दौडाहा आगामी चैत्रसम्म रहने बताइएको छ । त्यसपछि नयाँ कार्यक्रमका साथ कार्यक्रम संचालन गरिने योजना रहेको थाहा भएको छ । ***

तपाईको प्रतिक्रिया