काठमाडौँ–तोकिएको पोसाक नलगाउने ६६ कर्मचारी कारबाहीमा परेका छन् ।
सामान्य प्रशासन मन्त्रालयको अनुरोधमा राष्ट्रिय सतर्कता केन्द्रले बिहीबार कार्यालय समय सकिने समयमा गरेको अनुगमनका क्रममा तोकिएको पोसाक नलगाई सिंहदरबार प्रवेश गर्ने कर्मचारी कारबाहीमा परेका हुन् ।
कारबाहीमा पर्ने कर्मचारीमा गृह मन्त्रालयका पाँच, अर्थका सात र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका छ कर्मचारी छन् । यस्तै पोसाक नलगाउने विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका तीन, सहकारी तथा गरिबी निवारणका दुई र ऊर्जा मन्त्रालयका सात कर्मचारी छन् ।
केन्द्रका अनुसार सिँचाइ मन्त्रालयका दुई, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका छ, शिक्षा मन्त्रालयका १३, सूचना तथा सञ्चार प्र्र्विधि मन्त्रालयका १४ र सहरी विकास मन्त्रालयका एक कर्मचारी छन् । तोकिएको पोसाक नलगाई कार्यालय आउनेमा एक सहसचिव, १० उपसचिव, १५ शाखा अधिकृत र ४० सहायकस्तरका कर्मचारी छन् ।
सामान्य प्रशासन मन्त्रालयले सरकारी कार्यालयमा सरकारी कर्मचारी हो कि बिचौलिया हो छुट्याउन नसकिएको भन्दै आपत्ति प्रकट गरेपछि केन्द्रले आजदेखि स्थलगत अनुगमन गरी पोसाक नलगाउने कर्मचारीलाई कारबाही गर्न सुरु गरेको हो ।