घनघोर जंगलको बीचमा बन्यजन्तुको बस्ति थियो । त्यसमध्ये एक परिवार थियो पंक्षीको, जहाँ एकजोडी पंक्षीका दुई सन्तानसहित चार वटा पंक्षी रहन्थे । वरिपरी घना जंगल भएकाले आहार बढुल्न समस्या हुने भएकाले प्रायः माउ (भाले) टाढा टाढाको फाँटसम्म पुग्ने गर्थे । तर ती चार पंक्षीको परिवारमा भने भाले निक्कै अल्छि भएकाले आहार खोजेर ल्याउने कोही थिएनन् । पोथीले कतैबाट व्यवस्था गरे उनीहरुले पेट भर्थे अन्यथा भोकै रहनुपथ्र्यो । सन्तानहरु ठुला हुदै गएपछि आहारको मागपनि बढ्दै गएको थियो । पोथी सधै चिन्तित रहन्थी, न बस्ने घर थियो न खाने आहार ।
पोथीले भालेलाई निक्कै माया गर्थी त्यसैले घर बनाउन र आहार खोज्न कहिल्यै दबाब दिईन । जसोतसो आफैले गुजारा चलाएकी थी । एकदिन ठुलो हुरी वतास आयो, उनीहरुका सन्तानलाई पानीले भिजायो । बचेराहरु बिरामी भए । समस्या दिन प्रतिदिन बढ्दै गएको देखेर पोथी, चारो खोज्ने र राम्रो वासस्थान बनाउनाएर परिवारमा सुख भित्र्याउने अठोटका साथ सन्तानलाई भालेको जिम्मा लगाएर भुर्रर उडी र कोषौं टाढा पुगी । हावाहुरी, जाडो, गर्मी जे जस्तो परिस्थितिमा पनि आफ्ना बचेरालाई ममताको न्यानो छाहरीमा राखेकी पोथी अचानक छोडेर गएपछि बचेराहरु आत्तिएका थिए नै अल्छी भालेले पनि बिछोडको नमीठो पीडा महशुस गरेको थियो ।
यता बिछोठको पीडा सबैभन्दा धेरै कसैलाई थियो भने त्यो पोथी थिई । चारो जम्मा पार्ने र सानो बासस्थान बनाएर सुखी जीवन व्यतित गर्ने कल्पनामा रातदिन संघर्ष गर्दै गई । उसैको छिमेकी परेवा पनि उस्तै समस्याका कारण बासस्थान छोडेर हिडेको थियो । उनीहरु एकै स्थानमा रहेकाले समय समयमा भेट गर्थे । सुःख दुःख साट्दै रुने गर्थे । परेवा वेला वखत गाउँ फर्कन्थ्यो, उसैको साथमा पोथीले परिवारलाई चारो पठाउने गर्थी । परेवाको सहयताले पोथीले जम्मा गरेको चारो र बासस्थान बनाउने सामाग्री पठाएकी थिई । यता भालेले पनि सुन्दर बासस्थान बनाएर सन्तानलाई राम्रो हेरचाह गरेको थियो ।
मातृभुमीबाट टाढा एक्लै रहेकी पोथीलाई कम्ता दुःख थिएन । बासस्थान थिएन । कयौं पटक त शिकारीको मट्याङग्राले लागेर घाईते भएकी थिई । अस्वस्थताका बाबजुद परिवारको लागि निरन्तर लागिपरेकी थिई । सन्तान सम्झेर भकानिन्थी । सन्तानकै सुःखको लागि उ परदेशिएकी थिई । लामो समय भइसकेको थियो । आफ्ना सन्तान कस्ता भए होलान, कत्रा भए होलान, त्यसमा पनि भालेको सम्झनाले सताउथ्यो । प्रदेशको बसाईले आजित भइसकेपनि अव त परिवारलाई खान र बस्न पुग्छ भन्ठानेर पोथीले घर फर्कने निर्णय गरी । खुसीले तरंगित हुदै मिलनको चोखो कल्पनामा डुवुल्की मार्दै, भालेसंगको सामिप्यता र सन्तानप्रतिको ममताले कता कता काउकुती र बात्सल्य झल्काउथ्यो । यस्तै मिठा मिठा सँझना संगाल्दै उ भुरभुर उँडेर आफ्नो गाउँमा पुगी, मनभरी खुसीको बहार ल्याउदै ।
एकबारको जीवनमा आफुले सोचेको सम्झेको जस्तो कहाँ पुगेको छ र ? पोथीघर पुग्दा छाँगाबाट खसेजस्तै भई, आकाशले थिचे जस्तो भो । मुटु हान्न थाल्यो । साना बचेर अव भुरभुर उँड्नसक्ने भइसकेका थिए । पोथीले छाडेर गएलगत्तै भालेको मृत्यु भएको रहेछ र एक बिषालु सर्पले उसका बचेराको रेखदेख गरेको रहेछ । बचेरालाई पनि आफुजस्तौ बिषालु बनाएछ । आपैmले कोरलेर सृष्टि दिएको भएपनि सानैमा छोडेर गई । उता भालेको पनि मृत्यु भएकाले संस्कार दिन सकेनन् । सर्पले हुर्कायो, आफुजस्तै बनायो, बचेराहरुलाई गलत संस्कारमात्र सिकायो । सर्पले पोथीले जोडेको आहार, बासस्थान र बचेरा समेत हडप्यो । बचेरालाई नै आमा बिरोधी बनायो । एक्लो पारेर छोडी गएको र आफुहरुको रेखदेख सर्पले गरेकाले हाम्रो जीवनदाता सर्प हो भनेर बचेराहरुले आमालाई घरभित्र छिर्न पनि निषेध गरे ।
विचरी पोथी जसका लागि जीवनभर घाईते बनेर दुःख गरि उसैले चोट लियो । उमेर सकियो रोगी थिई, बुढेसकालमा सहारा दिने भाले पनि थिएन । बचेराहरुले बाबुको मृत्युको कारण आमालाई ठहराउदै प्रत्येक बोलीमा विष ओकल्थे । पोथीलाई सहिसक्नु भएन । आफ्ना सन्तान अलग संस्कारमा परेकाले यो अवस्था आयो भन्ने निचोड निकाली । आफ्नो वास्तबिकता कसरी सन्ताको अगाडी उजागर गरौं र सर्पको चंगुलबाट बाहिर निकालौं भन्ने चिन्तन गर्न थाली । कोसिस गरिरही सर्पको नियत गलत हो भनेर सम्झाउन, तर सन्तानको दिमागभरी सर्पको विष थियो, किन सम्झन्थे र ?
बचेरा कठै आमाको माया बुझ्न नसकेर त्यही बिषालु सर्पको फन्दामा कहिल्यै नउम्कने गरि फसे । बिस्तारै पोथिले जोडेको सबै जायजेथा सर्पले हिनामिना बनायो । पहिलेकै अवस्थामा पुर्याइदियो । उता पोथीलाई बुढेसकाल लागिसकेको छ । शिकारीको मट्याङग्राले उसैपजिन घाईते छ । आफ्नो भाग्यलाई धिक्कार्दै भालेको चिहानमाथि थचक्क बसेकी छ । बिगत सम्झेर मुटु भकानिन्छ । जतिवेला बचेराहरु साना थिए । हावाहुरी आउदा आफु भिजेर सन्तानलाई न्यानोपन दिलाएकी थिई । आफुले नखाएर सन्ताको पेट भरेकी थिई । बासस्थान र खानाको अभावमा पनि खुसी परिवार थियो । आफ्नाको साथ, माया र आत्मीयताको बलियो बन्धनले एक परिवारलाई कसेर राखेको थियो । उनै मिठा रमाईला पलहरु सम्झदै मृत्युलाई कुरेर बसेकी छ । बिचरी पोथी ।।।