Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन २०, २०८१
Sunday, October 6, 2024

काठमाडौं – जेपी गुप्ता भ्रष्टाचारको आरोपमा जेल जाँदा अरुलाई भन्दा बढी खुशी उपेन्द्र यादवलाई बनाएको छ । एकजना भ्रष्टाचारी जेल परे भनेर मात्रै उनलाई सन्तोष लागेको होइन ।

आफूलाई धोका दिंदै पार्टी फुटाएर गएको मान्छे बल्ल ठेगान लाग्यो भनेर उनलाई गद्गद् बनाएको हो । संविधानसभा चुनावमा मधेसको सबैभन्दा ठूलो शक्ति भएर उदाएको आफ्नो पार्टीलाई स्वाट्सुट्टै चोइटाएर ठुटो बनाएको बदला लिने उपयुक्त अवसर भएको छ यादवलाई अहिले ।

त्यसैले उनी माऊबिहीन भएर छटपटाईरहेका फोरम गणतान्त्रिकका नेता कार्यकर्तालाई फकाई फुलाई गरेर घर फर्काउने दाउमा छन् । आफ्नो गिरेको साखलाई फेरि पुरानै ठाउँमा ल्याउन सकिन्छ भन्ने उनको आशा पलाएको छ । बाबुराम भट्टराईलाई साथ दिनकै लागि पार्टी फुटाएर सिंहदरबार कुदेका जेपीले मधेसका सबैलाई उछिन्दै हालिमुहाली गर्न थालेको बदला लिने बेला पनि यही हो ।

मधेसी राजनीतिमा ढिलो आएर पनि रजाईं गर्न सफल भएका जेपीको त्यो खाली ठाउँमा उभ्याउन यादव मात्रै होइन, विजयकुमार गच्छदार पनि कान ठाडा पार्दैछन् । एकातिर उपेन्द्रको पार्टी सहभागी नभएको मधेसी मोर्चाले पनि दह्रो नेताको अभाव महसुस गर्ने छ भने अर्कोतिर मधेसको राजनीतिमा एजेण्डाका आधारमा राजनीति अघि बढाउने नेताको पनि कमी महसुस हुने देखिन्छ । यस्तो अबस्थामा जेपीको स्थान कसले लिन्छ भनी मधेसी पार्टीका नेता कार्यकर्ता अड्कलवाजी गर्न थालेका छन् ।

मधेस राजनीतिका विश्लेषक तुलानारायण साहको भनाईमा मधेस राजनीतिको हालिमुहाली गर्ने ठाउँमा पुग्ने दौडमा यादव भन्दा गच्छदार अघि छन् । ‘पछिल्ला ५/६ वर्षमा मधेसको राजनीतिक एजेण्डा राष्ट्रिय राजनीतिमा स्थापित भएका छन्, परिपक्व पनि भएका छन्’ साहले भन्नुभयो -’तर समावेशी, संघीयता जस्ता मधेसको मुद्दा परिपक्व र स्थापित भएपनि नेतृत्व भने त्यो अनुसार परिपक्क हुन सकेको छैन ।’

माओवादी, कांग्रेस र एमालेमा जस्तो मधेसका कुनै पनि दलमा जुझारुपन नरहेको र यादवको पार्टीसित त झन् त्यो क्षमता अलिकति पनि नरहेको साहको भनाई छ । उहाँको भनाईमा अग्रपंक्तिमा रहेका मधेसका तीन नेता उपेन्द्र यादव, महन्थ ठाकुर र विजयकुमार गच्छदारमा गच्छदार सबैभन्दा अघि छन् । ‘छोटो समयमा पनि अघि बढेका र यतिबेला राष्ट्रिय राजनीतिमा पनि रहेका कारण अबको मधेस राजनीति गच्छदारकै अगुवाईमा हुने निश्चित छ’ साहले भन्नुभयो । यादवसित परिपक्वता र नेतृत्व क्षमता नरहेकै कारण फोरम टुक्रिएको उहाँले बताउनुभयो ।

तर अर्का विश्लेषक प्रशान्त झाको भनाईमा अहिले नै यादव या गच्छदारमध्ये यो नै आउँछ भनेर भन्न सकिन्न । ‘गुप्ता, यादव र गच्छदारको राजनीतिक पृष्ठभूमि र भूमिका बेग्लाबेग्लै भएकाले गुप्ताको ठाउँ यसले या त्यसले लिन्छ भनेर भन्न सकिन्न’ झाले भन्नुभयो -’राजनीतिक यथार्थको हिसाबले अहिले पनि गच्छदारको पार्टी ठूलो हो । तर जेपी पछि पनि गणतान्त्रिकको नेतृत्व सम्हाल्न सक्ने अरु नेता भएकाले त्यहाँ हलचल हुने अवस्था छैन । यादवको पार्टी पनि आफ्नो ठाउँमै छ ।’ मधेस मुद्दामा प्रखर रुपमा उत्रिएका र प्रवक्ताको भूमिका निभाएका गुप्ताको ठाउँमा स्थापित नेता या अरु कुनै नयाँ आउन सक्ने सम्भावना रहेको झाले बताउनुभयो ।

तर मधेसी कार्यकर्ताले गच्छदारलाई मधेसीको हैसियत नदिने र बिश्वास नगर्ने दावी एकथरीको छ । सत्ता र शक्ति गच्छदारको साथमा भएपनि मधेसका एजेण्डा स्थापित गर्न चुकेका कारण उनको नेतृत्वमा भरोस गर्ने अबस्था नरहेको उनीहरुको दावी छ । वर्तमान सरकारमा गृहमन्त्री रक्षामन्त्री दुवै रहेका गच्छदारले मधेसीका एजेण्डा पुरा गराउन चासो नदिएर मधेसलाई धोका दिएको अधिकांश मधेसीहरुको बुझाई रहेको छ । यस्तो अबस्थामा गच्छदारभन्दा उपेन्द्र बढि मधेसवादी, बढि सिद्धान्तनिष्ट र बढि इमान्दार देखिन्छन् । तर मधेसको राजनीति सिद्धान्तभन्दा पैसामा बिक्ने यथार्थ बुझेका गच्छदार उपेन्द्रबाट त्यति डराएका देखिन्नन् ।

त्यसो त पहिले फोरममै रहेका यादव र गच्छदारकै वरिपरी केही समय मधेसको राजनीति घुमेको थियो । अब गुप्ता कहिल्यै राजनीतिमा शिर ठाडो पार्न नसक्ने गरी थन्किएका छन् । कांग्रेस पालादेखि नै राजनीतिका चतुर खेलाडि र वाककलामा निपूण मानिएका गुप्ताको खाली ठाउँ लिने हैसियत महन्थ ठाकुर, हृदयेश त्रिपाठी र राजेन्द्र महतोसित छैन । त्यसो हुँदा मधेस राजनीतिमा हालीमुहाली गर्ने पालो उपेन्द्र यादव र विजयकुमार गच्छदारकै हो ।

राज्यशक्ति र कार्यकर्ता संख्याको हिसाबले यादवभन्दा गच्छदार अघि छन् । तर राजनीतिक सम्बन्धको हिसाबले गच्छदारभन्दा यादव अग्रपंक्तिमा छन् । सबैभन्दा ठूलो दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसित यादवको सम्बन्ध निकै राम्रो मानिन्छ । शक्ति र दलभन्दा कहिलेकाहीं राजनीतिक सम्बन्ध र बलियो आडको भूमिका पनि महत्वपूर्ण हुने भएकाले यादवलाई पनि कम आँक्न मिल्दैन ।

रानी बिनाको मौरी जस्ता भएका फोरम गणतान्त्रिका नेताकार्यकर्तालाई यादव र गच्छदारमध्ये कसले रिझाउन सक्छ भन्ने पाटो पनि एकातिर छ । किनकी गुप्तापछि गणतान्त्रिकलाई नेतृत्व लिएर अगाडि बढाउन सक्ने हैसियत अरुमा त्यति देखिँदैन । गुप्ताले केहीदिन जेलबाटै पार्टी चलाएपनि यो दीगो हुन सक्दैन । त्यसो हुँदा गुप्ता र गच्छदारमध्ये कसले बाजी जित्ला भन्ने कुरा थाहा पाउन केही दिनको राजनीतिक घटनाक्रम र फोरम गणतान्त्रिकको भविष्य नै पर्खनुपर्ला । यो दौडमा गच्छदार सत्ता र पैसाको शक्तिरुपी अस्त्र प्रयोग गर्नेछन भने उपेन्द्रले चर्कै मधेसवाद र सिद्धान्तनिष्ट राजनीतिको हतियार प्रयोग गर्नेछन् | ***

तपाईको प्रतिक्रिया