साहित्यिक मेलामा सहभागि भईदिन जापानको नेपाली समुदायमा अपिल
टोकियो – यहि १९ र २० तारिख जापानमा हुन गईरहेको चौथौ अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा भाग लिनका लागि संसारभरिबाट साहित्यकारहरु जापान आउने क्रम जारी छ । जसअनुसार अमेरिकाबाट श्रीमती चन्दादेवी सुबेदी, नेपालबाट रामचन्द्र अधिकारी ’झरिकान्छो’, भारतबाट बिन्दिया सुब्बा र पूर्णकुमार राई, अष्ट्रेलियाबाट भिमसेन सापकोटा, गणेश घिमिरे, राजेश बुढाथोकी र रिपेश गुप्ता, भुटानबाट छत्रपति फुयांल आजै टोकियो आईपुग्नुभएको छ ।
उहाँहरुलाई नारिता र हानेदा बिमानस्थलमा अनेसास जापानका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो ।
अनेसासका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार होमनाथ सुबेदी भने यसअघि नै अमेरिकाबाट जापान आईसक्नुभएको छ ।
यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीलगायतका बिशिष्ट अतिथिहरु भोलि नै टोकियो आईपुग्ने कार्यक्रम रहेको अनेसास जापान स्रोतले जनाएको छ ।
सम्मेलन यही शनिवार र आइतवार टोकियोमा हुन गईरहेको छ । आयोजक स्रोतका अनुसार सम्मेलनका लागि सबै तयारी पुरा भईसकेको छ ।
बिश्वभरिका साहित्यकारहरुको एकै ठाउँमा हुन गईरहेको साहित्यिक मेला आयोजना गर्ने अवसर यो वर्ष जापानले पाएको बताउँदै विरलै मुलुकहरुलाई प्राप्त हुने यस्तो अवसरमा सहभागि भई डायस्पोरिक नेपाली साहित्यको चर्चा परिचर्चा र विवेचना गरिने विराट साहित्यिक मेलामा सहभागि भई सम्मेलनको गरिमा बढाईदिन मुल आयोजक समितिका तर्फबाट संयोजक ‘माइला’ले जापानबासी नेपालीहरुमा अपिल गर्नुभएको छ । *******