टोकियो – उत्ताउला फेशन गरेर चर्चा कमाउन रुचाउने गायिका ज्योति मगरलाई अमेरिकामा बस्दै आएका सञ्चारकर्मी तथा पुराना लोकगायक रामप्रसाद खनालले ब्लू फिल्म खेल्न सुझाव दिएका छन् ।
ज्योतिको पछिल्लो तीजे गीत ‘ढाडे बिरालो’ बजारमा आएपछि पुराना लोकदोहरीका सर्जक खनालले ब्लू फिल्म खेल्न सुझाव दिएका हुन् । खनालको टिप्पणीसंगै फोहोरी हुँदै गएको दोहोरी क्षेत्रमा अब एउटा नयाँ बहसको सुरु भएको छ । दोहोरी गीत र तीजे गीतका नाममा पछिल्ला पुस्ताका गायक, सर्जकहरुले नपच्ने खालका उच्छृङ्खलता प्रदर्शन गर्दै आएपछि दोहोरी र तीज सँस्कृतिलाई आजको अवस्थासम्म ल्याई पुर्याउन योगदान पुर्याउने पुराना सर्जकहरुलाई चित्त नबुझ्नु स्वभाविकै हो । हाकाहाकी ‘कि रेखाको चर्चा छ, कि देखाको चर्चा छ’ भन्ने गायिका ज्योति पनि खनालको सुझाव पढेपछि अवश्य चुप लाग्ने छैनन् । उनको पनि केही प्रतिक्रिया अवश्य आउने नै छ । यहि बिन्दुबाट सुरु हुने छ दोहोरीलाई फोहोरी हुनबाट कसरी बचाउने भन्ने बहस । यस क्षेत्रका विद्वत सर्जकहरुले के सही र के गलत छुट्याउन सक्नुपर्ने, रातारात चर्चा कमाउने नाममा छाडा सँस्कृतिलाई भित्रिन दिन नहुने जस्ता कुरा ध्यान दिन जरुरी रहेको यस क्षेत्रलाई माया गर्ने दर्शक श्रोताहरुको आवाज आफ्नै ठाउंमा छ।
ढिलै भएपनि सुरु भएको यस बहसले सम्बन्धित क्षेत्रको ध्यानाकर्षण गराउनुकासाथै एउटा सार्थक निश्कर्ष आउने अपेक्षा गरिएको छ । आफ्नो फेसबुकमार्फत खनालले गायिका ज्योतिलाई दिएको सुझाव यस्ता छन् ।
ज्योति मगर, ब्यक्तिगत रुपमा उनलाई जे मन लाग्छ गरुन, त्यो उनको स्वतन्त्रता र अधिकार हो । तर, यि ‘उत्ताउली’ नानीले केही समय यता लोकगीत दोहोरी गीत क्षेत्रको नराम्रोसँग बेइज्जेत गर्दैछिन् । धेरै पटक यिनका उत्ताउला र सीमा नाघेका गीत भिडियो सुनेपछि हेरेपछि मन अमिलो भएर आउँथ्यो, लेखौँ लेखौँ लागेर पनि भैगो ‘गु लाई चलाई मुख भरी छिटा’ किन गराउनु भन्दै चुप लागि बसेँ । तीन दिनदेखि उनको बारेमा अनलाइनहरु फेसबुक र ट्विटर अनी यु ट्युब मा आइरहेका प्रतिकृया हेरेपछि मलाई निम्न कुरा भन्न मन लाग्यो रिसानी भए पनि मलाई कुनै गुनासो हुने छैन :
१. लोक गीत र दोहोरी गीत, तीज गीत भनेको हरेक नेपालीको मन हो, मुटु हो ज्योति तिमी यो क्षेत्रको लागि अनुपयुक्त छौ । यो पवित्र क्षेत्रलाई तिम्रो नग्नता र उत्ताउलोपनले दुषित पार्ने धृष्टता नगर । चर्चा कमाउनकै लागि हो भने, देखाएकै भरमा हिट हुने भुत चढेको हो भने, तिमीलाई ‘निला फिल्म’ खेल्दा चर्चित हुन झन छिटो होला बरु त्यतै लाग्छेउ कि नानी !
२. हाम्रा अग्रजहरुले, हामीहरु सबैले, कल्पना गरेको, दु:ख गरेको, लागेको लोक दोहोरी क्षेत्र ज्योतीको ‘देखाउने’ क्षेत्र होइन । ज्योति नानी तिमी लोक दोहोरीको नाम लिएर यसलाई बिटुल्याउने काम नगर । तिम्रा बाबु आमा दाजुभाइ दिदी बहिनी वा कोही आफन्तजन सँगसँगै बस, तिम्रै उत्ताउलोपना हेर, देखाउ अनि वहाँहरुलाई सोध, तिम्रो अन्तरमनलाई सोध, के तिमी ठिक गर्दैछौं ?
३. म्युजिक नेपालप्रति म अति सम्मान गर्दछु । म्युजिक नेपाल हामी सबै नेपाली कलाकारको माइती हो, मावली हो, कर्म घर हो, संग्रहालय हो, जहाँबाट मेरा पनि थुप्रै गीति एल्बम सिडी भिसिडी डिभीडी प्रकाशित भएका छन् । यस्तो सम्मानित संस्थाले ‘ढाडे बिरालो’ नाम को बिकृतिको पराकाष्टा तिज गीत र उत्ताउली ज्योति मगरको नग्न नाच बेच्ने भएछ | आश्चर्य लाग्यो । म्युजिक नेपालले यसमा पुनर्बिचार गरोस् ।
४. ज्योति मगरका लागि यो गीत लेख्ने गीतकार, गाउने गायक गायिका, भिडियो निर्देशन गर्ने निर्देशक सबैलाई म बिनम्रतापूर्वक आफ्ना आमाबाबु, श्रीमती, छोराछोरी र आफन्तजन सँगसँगै बसेर यो ढाडे बिरालो र ज्योतिको नाङ्गो नाच हेर्न चुनौती दिन्छु, सक्नुहुन्छ तपाईंहरु ? सक्नुहुन्छ ?
५. मगर र गुरुङ जाती नेपाली लोक संस्कृतिका खानी हुन, म उनीहरुलाई उच्च सम्मान गर्दछु । मगर थर कि उत्ताउली यि ज्योति नानीलाई तपाईंहरुले पनि खबरदारी गर्ने कि ?
६. लोकगीत, दोहोरी गीत क्षेत्रमा ज्योति नानी मात्र एक्लै छैनन यसमा सहायक अरु पनि छन । जसले चर्चा कमाउनकै लागि लोक दोहोरी क्षेत्रको मर्यादा बिर्सिन थालेका छन । उल्टा सिधा गीत गाएर, मोडलिङ गरेर हिट हुने सपना साँच्दैछन । तिनका नक्कल, पहिरन, बोली भाषा, स्टाइलहरु देख्दा आची गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो हुन्छ किन बुझ्दैनन् उनिहरु ?
७. दर्शक श्रोता हामी सबै कलाकारका न्यायाधिश हुन, अब दर्शक श्रोताले पनि यि ‘देखाउन’ आउनेहरुलाई छि-छि र दुर-दुर गरिदिनुपर्यो ।
८. कलाकारसँग सम्बन्धित संघ संस्थाहरु सबैले सोच्नुपर्यो, के कलाकार भनेको ‘देखाउने’ मात्र हो ? कलाकारको अनुशासन, मर्यादा हुँदैन ?
९. राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान यसमा अझ बढी सक्रिय हुनुपर्यो । यो क्षेत्रलाई बदनाम हुनबाट बचाउन एउटा आचारसंहिता बनाउनुपर्यो । नत्र हाम्रो क्षेत्र धराशायी हुने छ । मलाई आशा छ, म लोकदोहोरीको क्षेत्रमा सक्रिय रहेका बेला मसँग सहयोगीका रुपमा सँगै काम गरेका भाइबहिनीहरु अहिले प्रतिष्ठानको नेतृत्वमा हुनुहुन्छ, वहाँहरुले केही न केही पक्कै गर्नुहुने छ भन्ने मैले आशा राखेको छु ।
१०. अन्त्यमा मिडिया र पत्रकारहरुसँग पनि गुनासो : यस्ता उत्ताउला, उत्ताउलीलाई हाइलाइट गर्ने, चर्चामा ल्याइदिने मिडिया र मिडियाकर्मीहरु के तपाईंहरु ठिक गर्दै हुनुहुन्छ ? असल कलाकार, अनुशासित र मर्यादित कलाकारलाई कहिलै हाइलाइट गरिन्छ मिडियामा र कहिले योगदानको चर्चा हुन्छ मिडियामा ? कृपया गलत सँस्कारलाई प्रश्रय नगरौँ ।
स्पस्टोक्ति : यि उत्ताउली र यो गीतमा संलग्न उत्ताउलाहरुको यो भिडियो यहाँ शेयर गर्न पटक्कै मन छैन तर यत्रो भूमिका लेखिसकेपछि यही भिडियो यहाँ नराखे पाठकलाई बुझाउन नसकिने भयो त्यसैले यो उत्ताउलो भिडियो पनि यहाँ राखिएको हो बुझिदिनुहोला । यसपछि ज्योति पनि सहि बाटोमा आउन, यो गीत गाऊने, लेख्ने, अभिनय गर्ने, निर्देशन गर्ने सबैका आँखा खुलुन्, दर्शकले पनि जजमेन्ट गरुन् भनेर माथिको यो स्टाटस लेखिएको हो । धन्यवाद
(रामप्रसाद खनालको स्टाटसबाट)