टोकियो – ‘नेपालतिर कोदोको झोल जापानतिर साके हो, साके, खान्न खान्न भन्दा भन्दै हल्का हल्का चाखे, चाखे हो चाखे, त्यहि चाखेको तालमा मैले मायालुलाई ताके हो ताके’ भन्ने बोलको गीतमा जापानमै छायाङ्कन गरिएको यो म्युजिक भिडियो गायक मिलन लामाले नेपाल फर्केर हालै सार्बजनिक गरेका छन् ।
अघिल्लो महिना टोकियोमा भएको एक साँगीतिक कार्यक्रमका लागि जापान आएका गायक मिलन लामाले स्वदेश फर्केलगत्तै उक्त म्युजिक भिडियो सार्बजनिक गरेका हुन् ।
साँगीतिक कार्यक्रमको सिलसिलामा बिश्वका दर्जनौ मुलुक घुमेका गायक लामाले बिभिन्न भाषामा बोलिने रक्सीको बारेमा जापान आउनुपूर्व उक्त गीत बनाएक हुन र सोही गीतमा जापानमा रहेका कलाकारहरुलाई समेटेर छायाङ्कन गरिएको म्युजिक भिडियो सार्बजनिक गरिएको हो ।
उक्त गीतमा शब्द, स्वर र संगीत गायक लामाकै रहेको छ भने अनिल थापा, सोना केसी, अनिल गुरुङ, संगीता क्षेत्री लगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
कार्यक्रमको सिलसिलामा विभिन्न मुलुक पुग्दा हरेक देशमा रक्सीको उत्तिकै महत्व रहेको र आ-आफ़्नो भाषा अनुसार विभिन्न नामले पुकारिने रक्सीको महिमा बारे गीत बनाएको र यसको म्युजिक भिडियो जापानमा छायाङ्कन गरिएको गायक लामाले समुद्रपारिलाई बताए ।***