Deneme Bonusu Veren Siteler
आइतबार, मंसिर ०२, २०८१
Sunday, November 17, 2024

काठमाडौं– गरिब घरपरिवार सहयोग समन्वय बोर्डले भूकम्पबाट प्रभावित जिल्लाका गरिब घरपरिवारको तथ्याङ्क सङ्कलन गर्ने भएको छ ।

पाँच सदस्यीय समिति बनाएर गरिब परिवारको तथ्याङ्क लिन लागिएको बोर्डले जनाएको छ । बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेलका अनुसार उक्त समितिमा गृह र स्थानीय मन्त्रालयका सहसचिव, तथ्याङ्क विभागका महानिर्देशक, गरिब घरपरिवार सहयोग समन्वय बोर्डका कार्यकारी उपाध्यक्ष र सोही बोर्डका निर्देशक रहनेछन् । बोर्डले सोसम्बन्धी प्रश्नावली र आर्थिक विषयको पनि निर्धारण गर्नेछ ।

“पहिलो चरणमा २५ जिल्लाका चार लाखभन्दा धेरै गरिब घरपरिवारको पहिचान गरिसकेका छौँ” उहाँले भन्नुभयो । गोरखा, रामेछाप, सिन्धुली र तनहुँमा गरिब परिवारको तथ्याङ्क सङ्कलन गरिसकेको छ । सङ्कलित तथ्याङ्कमध्ये चार जिल्लामा दुई लाख ५० हजार वास्तविक गरिब रहेका छन् । “केही बढ्ने सङ्केत दखेका छौँ”, उपाध्यक्ष पौडेलले भन्नुभयो ।

भूकम्प प्रभावित सिन्धुपाल्चोक, धादिङ, दोलखा, नुवाकोट, भक्तपुर, काठमाडौँ, ललितपुर, काभ्रेपलाञ्चोक, लमजुङ, ओखलढुङ्गा, रसुवालगायतका जिल्लाको तथ्याङ्क सङ्कलन गर्न अर्थ, गृह र स्थानीय विकास मन्त्रालयसँग समन्वय गरेर अगाडि बढ्न लागेको बोर्डले जनाएको छ ।

यस कार्यले गरिब घरपरिवारको पहिचान हुनुका साथै भूकम्प प्रभावितको तथ्याङ्क प्रस्तुत गर्न सजिलो हुने बोर्डका निर्देशक ढुण्डिराम लामिछानेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रविधिको प्रयोग गरेर छिटोभन्दा छिटो गरिब घरपरिवारको तथ्याङ्क सार्वजनिक गर्नेछौँ ।”

तथ्याङ्क सङ्कलन गर्न तत्काल तीन हजार जनशक्ति आवश्यक पर्नेछ । आगामी दिनमा सरकारले गरिबलाई लक्षित गरेर ल्याउने कार्यक्रमलाई ठूलो सहयोग पुग्ने विश्वास गरिएको छ । तथ्याङ्क सही या गलत थाहा पाउन जिल्ला प्रशासन कार्यालय प्रमुखको नेतृत्वमा रहेको टोलीले अनुगमन गर्ने बोर्डले जनाएको छ ।

तपाईको प्रतिक्रिया