Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– देश भूकम्पको विपत्तिमा पारेका कारण प्रत्येक वर्ष जेठ १५ गते मनाइने गणतन्त्र दिवसको औपचारिक तथा अनौपचारिक कार्यक्रम यस वर्ष नहुने भएको छ ।

गत वैशाख १२, १३ र २९ गतेको ‘गोरखा भूकम्प’ र त्यसपछिका ठूला पराकम्पनबाट प्रभावित भएकाहरुको उच्च प्राथमिकताका साथ खोज, उद्धार र राहत जारी नै रहेको तथा पुनःनिर्माण एवं पुनःस्थापनामा सिङ्गो मुलुक जुटिरहेको हुँदा राष्ट्रिय उत्सवका रूपमा मनाइने गणतन्त्र दिवसका कार्यक्रम यस वर्ष प्रभावित हुने भएका हुन् ।

देशमा गणतन्त्र स्थापनापछि प्रत्येक वर्ष गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति डा. रामवरण यादवले आयोजना गर्दै आउनुभएको स्वागत तथा जलपान समारोह पनि यस वर्ष नहुने भएको छ ।

नेपालमा छ दशक अघिदेखिका विभिन्न संघर्षको जगमा भएको विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलनको सफलतापछि भएको संविधानसभाको निर्वाचनपछि विसं २०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले देशमा विद्यमान राजतन्त्रको अन्त्य गरी गणतन्त्र घोषणा गरेको थियो ।

राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार गत वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनले मुलुकमा ठूलो जनधनको क्षति भएको दुःखद् अवस्थामा यस वर्ष गणतन्त्र दिवसमा स्वागत तथा जलपान समारोह आयोजना नगरिने भएको हो । त्यस्तै सरकारले हरेक वर्ष जेठ १५ का दिन स्थानीय सैनिक मञ्चमा राष्ट्रपतिको उपस्थितिमा गणतन्त्र दिवसलाई राष्ट्रिय उत्सवका रूपमा मनाउँदै आएकामा यस वर्ष उक्त कार्यक्रम नहुने भएको छ ।

उक्त दिन देशका सबै जिल्ला प्रशासन कार्यालय र विदेशस्थित मुलुकका कूटनीतिक निकायमा समेत गणतन्त्र दिवसका कार्यक्रम प्रभावित हुने भएका छन् । देशमा गणतन्त्र स्थापनाको सातौंँ वर्ष बितिसके पनि देशले अझैसम्म पनि संविधानसभाबाट लोकतान्त्रिक संविधान पाउन सकेको छैन ।

तपाईको प्रतिक्रिया