Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं– राष्ट्रिय योजना आयोगले सुरक्षित निर्माण प्रविधि प्रयोग गरी सुविधायुक्त, व्यवस्थित र सुरक्षित बस्ती निर्माणको रणनीतिसहित पुनःनिर्माणको योजना तयार गरेको छ ।

आयोगले भूकम्पछिको विपत्तिको अवस्था सामना गर्न अन्तर्राष्ट्रिय प्रचलन, सरकारले स्वीकृत गरेको विपद् व्यवस्थापन सम्बन्धी राष्ट्रिय रणनीति तथा राष्ट्रिय विपद्प्रतिको कार्यढाँचाका आधारमा चार चरणमा पुनःनिर्माणलाई अगाडि बढाउने योजना बनाएको हो । जनजीवनलाई व्यवस्थित, सुविधायुक्त र सुरक्षित बनाउन पुरानोभन्दा उत्तम निर्माणमा जोड दिने मूल नीति आयोगको छ ।

आयोगले तयार गरेको नीतिमा प्रतिकूलतालाई अवसरका रुपमा लिई अव्यवस्थित, अस्वस्थकर र जोखिमयुक्त बस्तीलाई सुधार र नवनिर्माण गर्ने उल्लेख गरेको छ । आयोगले ४० कार्य विवरणसहित मन्त्रालय तथा विभिन्न निकायको जिम्मेवारी र समयावधिसमेत तोकेर योजना तयार गरेको हो ।

समाजका कमजोर वर्गको पुनःरुत्थान गरी आर्थिक रुपले अत्यधिक पछाडि परेका वर्गलाई रोजगारीका अवसरमा प्राथमिकता दिने र नवनिर्माणका कार्य ठूलो परिमाणमा परिचालन गरी स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने नीति बनाउन आयोगले सरकारलाई सुझाव दिएको छ ।

उक्त नीति कार्यान्वयन गर्न आयोगले भूउपयोग योजनाको तर्जुमा गरी जग्गा एकीकरण कार्यक्रम सञ्चालन गर्ने तथा सुरक्षित र व्यवस्थित बस्तीको निर्माण गर्ने कार्यनीति लिएको छ । त्यसैगरी भवन संहिताको पुनरवलोकन गरी ग्रामीण बस्तीमा समेत त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइने र सुरक्षित भवन निर्माणलाई प्रोत्साहन दिने जनाइएको छ । ऐतिहासिक, सांस्कृतिक, धार्मिक र पुरातात्विक महत्वका सम्पदाको संरक्षण, सम्वद्र्धन एवम् पुनःनिर्माण गर्न आयोगले प्राथमिकता दिएको छ ।

शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइसम्बन्धी योजना तर्जुमा गर्दा विपद्बाट हुने क्षतिको पक्षलाई उच्च प्राथमिकता दिने कार्यनीति लिइएको छ । आर्थिक तथा सामाजिक पूर्वाधारको पुनःस्थापना र नवनिर्माणसम्बन्धी कार्यलाई व्यापक रुपमा विस्तार गरी रोजगारी र क्षमता विकासका अवसरको सिर्जना गर्ने कार्यनीतिसहित योजना तयार गरिएको आयोगका सदस्य डा प्रेमप्रसाद दङ्गालले जानकारी दिनुभयो ।

आयोगले तयार पारेको योजनाअनुसार पहिलो चरणमा उद्धार तथा राहत, दोस्रो चरणमा प्रारम्भिक पुनःरुत्थान (जनजीवन सामान्यीकरण), तेस्रो चरणमा पूर्वाधार पुनःरुत्थान (विपद्को असरको आङ्कलन र मूल्याङ्कन) र चौथो चरणमा पुनःस्थापना, पुनःनिर्माण तथा नवनिर्माणलाई अगाडि बढाइएको छ ।

तपाईको प्रतिक्रिया