काठमाडौं- बिनाशकारी भूकम्पपछि मुलुकको पुनर्निर्माणका लागि राष्ट्रिय सरकार बनाउन सहमत एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालबीच एक्लाएक्लै छलफल भएको छ ।
दाहाल निकट स्रोतका अनुसार एक निजी निवासमा बिहीबार राति अबेरसम्म दुई नेताबीच झन्डै एक घण्टा कुराकानी भएको छ । विनाशकारी भूकम्पपछि उत्पन्न असहज अवस्थालाई प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले व्यवस्थित गर्न नसकेको निष्कर्षसहित राष्ट्रिय सहमतिको सरकार गठन गर्न सत्तासाझेदार एमाले र प्रमुख प्रतिपक्षी दल एमाओवादीबीच यसअघि पनि दुई चरणको वार्ता भएको थियो ।
भेटवार्तामा ओली र दाहालले दुवैले विद्यमान संकटलाई निकास दिन राष्ट्रिय सहमतिको सरकारको नेतृत्वको दाबी गरेका थिए। स्रोतका अनुसार दुवै नेताले राष्ट्रिय सरकारको नेतृत्व नलिने दललाई सत्तामा प्रमुख हिस्सा दिने धारणा राखेका थिए।