काठमाडौं– व्यवस्थापिका–संसदको राष्ट्रिय विपद् व्यवस्थापन, अनुगमन तथा निर्देशन विशेष समितिले भूकम्प प्रभावित क्षेत्रमा राहत सामग्री पुगे नपुगेको अवस्थाबारे जानकारी गराउन सार्वजनिक आग्रह गरेको छ ।
व्यवस्थापिका–संसदले वैशाख ३० गते गठन गरेको शीर्ष समितिले भूकम्प प्रभावित व्यक्तिलाई राहत सामग्री वितरण भए/नभएको, उद्धारको काम भए/नभएको र राहत सामग्रीको उचित प्रयोग भए/नभएको लगायत विषयमा आफूलाई थाहा भएको जानकारी समितिमा पठाउन अनुरोध गरेको हो ।
समितिले जारी गरेको सूचनामा यस्तो जानकारी विशेष समितिमा इमेल र चिठी पठाउनुका साथै पैसा नलाग्ने टोली फ्री नम्बर १६६०–०१–२२३३४ मा फोनमार्फत पनि जानकारी दिन सकिने बताएको छ ।
भूकम्प प्रभावित ठाउँमा सरकार तथा विभिन्न निकायद्वारा भइरहेका कामकारबाहीको अनुगमन तथा निरीक्षणका लागि सभामुखको अध्यक्षतामा ७२ सदस्यीय विशेष समिति गठन भएको छ ।