काठमाडौँ- यही वैशाख १२ गते गएको ‘गोरखा भूकम्प’बाट सात हजार ९१२ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयले आज बिहान ९:५० बजे उपलब्ध गराएको विवरणअनुसार घाइतेको सङ्ख्या १७ हजार ८७१ पुगेको छ । यस अवधिमा १० हजार ८०३ सरकारी घर तथा भवन पूर्ण रुपमा क्षति भएका छन् भने १५ हजार ३४ घर तथा भवन आंशिक क्षति भएका छन् ।
सर्वसाधारणका दुई लाख ९७ हजार २६६ घर पूर्ण रुपमा क्षति भएका छन् भने दुई लाख ७७ हजार ५० घर आंशिक क्षति भएको जनाइएको छ । जनगणना २०६८ का अनुसार नेपालका ५४ लाख ७७ हजार २२४ घरधुरीमध्ये १०.९६ प्रतिशत घरमा क्षति भएका छन् ।