भरतपुर– लामो समयदेखि प्रांगारिक कृषिको अनुसन्धान तथा प्रवद्र्धनको अनुभव भएका उद्यमीहरुले मध्य नेपालको चितवनमा प्रांगारिक कृषकको ऊर्जा थप्न प्रांगारिक पसलको सुरुवात गरेका छन् ।
‘ग्रीन होम’ नाम दिइएको सो प्रांगारिक पसलको जिल्ला कृषि विकास कार्यालयका प्रमुख सोमनाथ घिमिरेले उदघाटन गर्नुभयो । ग्रीन होम देशमा नै प्रांगारिक क्षेत्रमा लामो समय काम गरेका वसन्त रानाभाट, ऋषि अधिकारी तथा बासु काफ्लेले सुरु गर्नुभएको हो ।
देशभरिबाट प्रांगारिक प्रमाणित फर्महरुको चिया, प्राकृतिक मह, खाद्यान्न तथा दलहनहरु तथा प्रांगरिक प्रमाणको दौरानमा रहेका नजिकका किसानहरुको हरियो ताजा तरकारीहरु सो पसलमा पाइन्छ । लगानिकर्ताहरु मध्येका एक ऋषि अधिकारीले हालसम्म २ लाख पचास हजार लगानी भइसकेको र ४ लाख लगानी गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो ।
प्रांगारिक पसल सो क्षेत्रको प्रसिद्ध कलेज सप्तगण्डकी बहुमुखी क्याम्पस नजिक छ । सो क्षेत्रमा नजिकै ३ वटा प्रमुख अस्पताल, प्रशासनिक कार्यालयहरु र झण्डै २ किलोमिटर नजिक जिल्लाको व्यापारिक केन्द्र नारायणघाट भएको घना बस्ति रहेको छ ।
हामीहरुले अब प्रांगारिक कृषहरुलाई प्रोत्साहन दिन यस्ता प्रांगारिक पसलहरुको प्रवद्र्धन गर्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि सोमनाथ घिमिरे बताउनुहुन्छ । यस पसलको प्रतिक्रियासँगै हाम्रो देशको अन्य ठाउँमा पनि पुग्ने लक्ष्य रहेको लगानीकर्ता मध्ये एक वसन्त रानाभाटले बताउनुभयो ।