सन्दर्भ : नेकपा स्थापना दिवस
काठमाडौँ- मार्क्सवादी विचारधारालाई हेर्ने दृष्टिकोणमा धेरै टाढा नदेखिने मात्र होइन हँसिया, हथौडा र तारा अङ्कित झन्डालाई ‘साझा’ मान्ने तथा ‘संसारभरका मजदुर एक होऔं’ भन्ने नेपालका कम्युनिस्ट पार्टी नै एक दर्जनभन्दा बढी समूहमा विभाजित हुनु विरोधाभाषपूर्ण छ ।
श्रमजीवी वर्गको हितका लागि सङ्घर्षरत भएको बताउने कम्युनिस्ट पार्टी विचार, सत्ता र पद तथा व्यक्तिगत मनमुटावका कारण टाढा र नजिक हुने गरेका छन् । टुटफुट र एकताको यो छ दशक बढीको यात्राका बीच बुधबार नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ६७ औं वार्षिकोत्सव मनाइँदैछ ।
व्यवस्थापिका–संसदमा हालको सबभन्दा ठूलो कम्युनिस्ट पार्टी एमाले ‘जनताको बहुदलीय जनवाद (जबज) को प्रकाशमा एकीकृत कम्युनिस्ट आन्दोलनको निर्माण : चुनौती र सम्भावना’ विषययक बहसमा उत्रिँदैछ । दोस्रो ठूलो कम्युनिस्ट पार्टी एकीकृत नेकपा (माओवादी) शान्ति प्रक्रियाकै क्रममा उसबाट चोइटिएका अन्य मुख्यतः चार कम्युनिस्ट पार्टीबीच एकताको वार्तामा अग्रसर छ । जबजले परम्परागत कम्युनिस्ट सत्ता (एकल पार्टी) को साटो बहुदलीय प्रणाली, आवधिक निर्वाचन र शान्तिपूर्ण रुपान्तरणको वकालत गर्छ ।
‘संसारभरका मजदुर एक होऔं’ भन्ने उद्घोषलाई पछ्याउँदै नेपालमा पहिलो पटक पुष्पलालले विश्व कम्युनिस्ट आन्दोलनको महत्वपूर्ण दस्तावेज कम्युनिस्ट घोषणापत्र (सन् १८४८) लाई नेपालीमा अनुवाद गरेपछि यहाँ त्यस आन्दोलनको प्रादुर्भाव भएको थियो । उहाँकै नेतृत्वमा राणा शासनको विरोध गर्दै विसं २००६ वैशाख ९ गते लेनिनको जन्मदिनक पारेर ‘नेपाल कम्युनिस्ट पार्टी’ स्थापना भएको थियो जसमा नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठको सहभागिता थियो ।
विसं २००८ मा भारतको कलकत्तामा नेकपाको पहिलो सम्मेलन भई मनमोहन अधिकारीले प्रस्तुत गरेको सामान्तवाद र साम्राज्यवादलाई अन्त्यका लागि क्रान्तिमा जाने नीति र कार्यक्रम पारित भएको थियो भने विसं २०१४ मा भएको दोस्रो महाधिवेशनमा आइपुग्दा डा केशरजङ्ग रायमाझीले राजतन्त्रलाई सहयोग पुग्ने गरी ‘परिवर्तन किन’ भन्ने सवालमा विवाद सिर्जना गरेका थिए ।
विसं २०१९ मा भएको तेस्रो महाधिवेशनमा तुल्सीलाल अमात्यले सम्प्रभुतासहितको संसद् र पुष्पलालले विघटित संसद् पुनःस्थापनाको प्रस्ताव गरेपछि विवाद उत्पन्न भयो । यही महाधिवेशनले रायमाझीलाई कारबाही गर्यो । झापा विद्रोह हुँदै जनमतसङ्ग्रहलाई हेर्ने विषयमा पनि विवाद उत्पत्न भयो भने त्यसबीचमा गठित नेकपा (माले) ले २०४६ मा गरेको चौथो महाधिवेशनले जबजका विचारक मदन भण्डारीलाई महासचिव बनायो, मालेमा माक्र्सवादीसँगको एकता(विसं २०४७ पुस २२)पछि अहिलेको एमाले बन्यो ।
मोहनविक्रम सिंह, पुष्पकमल दाहाल, डा बाबुराम भट्टराई, निर्मल लामा, नारायणमान बिजुक्छे, विष्णुबहादुर मानन्धरलगायत नेता र उहाँहरुले नेतृत्व गरेका पार्टीले जबजलाई सिद्धान्ततः स्वीकार गर्दैनन् । मोहन वैद्य, नेत्रविक्रम चन्द, मातृका यादव, मणि थापा आदिले नेतृत्व गरेका साना माओवादी पार्टीबाहेक स्थापित सबै कम्युनिस्ट पार्टी संसदीय निर्वाचनमा भाग लिई बहुदलीय प्रतिस्पर्धामा आइसकेका छन् । पछिल्लो संविधानसभाको निर्वाचनमा एमाओवादी तेस्रो भई नेपाली काँग्रेस र एमालेको गठबन्धन बनेपछि एमाओवादी र एमाले संविधान निर्माणका विषयवस्तुमा टाढा देखिए ।
मूल प्रवाहमा समाहित हुन ओलीको आह्वान
एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थापनाका सन्दर्भमा आज विज्ञप्ति जारी गर्दै नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह र लोकतान्त्रिक आन्दोलनको पनि अग्रणी शक्तिका रूपमा एमाले स्थापित भएकाले जबजकोे सैद्धान्तिक धरातल र मार्गदर्शनमा दृढतापूर्वक उभिएर कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नु अपरिहार्य भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “हामी सबैखाले उग्रवामपन्थी र दक्षिणपन्थी वैचारिक विभ्रमबाट मुक्त हुँदै यस मूलप्रवाहमा सम्मिलित हुन विभिन्न समूहमा छरिएर रहेका कम्युनिस्ट क्रान्तिकारी वामपन्थी साथीलाई निःसङ्कोच घर फर्किन पुनः आह्वान गर्दछु ।”
सच्चा कम्युनिस्ट एकीकृत हुनुपर्छ : एमाओवादी
एमाले अध्यक्षमा ओली निर्वाचित भएपछि एमाओवादीले आफूसँगको व्यवहार थप कडा पाइएको अनुभव भएको जनाउँदै आएको छ । सो पार्टीका नेता अग्निप्रसाद सापकोटाले समग्र कम्युनिस्ट आन्दोलनमा विश्वव्यापी आर्थिक, सामाजिक र वातावरणीय परिवर्तन भइरहेका सन्दर्भमा नयाँ विचारको विकासका लागि बहस गर्नुपर्ने आवश्यकता भएको बताउनुभयो । उहाँले रासससँग भन्नुभयो, “माओवादी विचारधारा बोकेको पार्टीका बीचमा एकता गर्न वार्ता भइरहेको र अन्य सच्चा कम्युनिस्ट र क्रान्तिकारीलाई एकताबद्ध हुनुपर्ने खाँचो हामीले पनि महसुुस गरेका छौँ ।”
बृहत् वाम र लोकतान्त्रिक एकता : संयुक्त
नेकपा (संयुक्त)का नवनिर्वाचित अध्यक्ष गणेश साह कम्युनिस्ट स्थापना दिवस मात्र नभई लेनिनको पनि जन्म दिन भएकाले सबै शोषण अन्त्य गर्दै वैज्ञानिक समाजवाद स्थापानका लागि अग्रसर हुनुपर्ने दिन हो भन्दै विद्यमान अवस्थामा वाम र प्रगतिशील तथा लोकतान्त्रिक शक्तिको बृहत् सहकार्य गरेर सङ्क्रमणकाललाई पार लगाउनुपर्ने बताउनुहुन्छ ।
नेताहरुका यी प्रतिबद्धताले विश्व कम्युनिष्ट आन्दोलनमा देखिएको उतारचढाव र त्यसलाई हेर्ने र बुझ्ने मामिला तथा नेपालको निरङ्कुश राजतन्त्रको दबदबाका बीच नेपालका कम्युनिस्ट एकीकृत र विभाजित हुँदै आएको इतिहासलाई एकता र सहकार्यमा रुपान्तरण गराउने विन्दुमा ल्याउन सक्नेछ । रासस