Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौँ- विभिन्न राजनीतिक दलका नेताहरुले राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालाई परिवर्तनलाई आत्मसात् गर्न सक्ने नेताका रुपमा चित्रित गर्नुभएको छ ।

स्व थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्न दशरथ रङ्गशाला पुग्नुभएका नेताहरुले पञ्चायतकाल हुँदै बहुदलीय व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको देशको राजनीतिक परिवर्तनलाई उहाँले आत्मसात् गर्न सक्नु अत्यन्त प्रशंसनीय भएको उल्लेख गर्नुभयो ।

स्व थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्री सुशील कोइरालाले पञ्चायतकालमा पनि तत्कालीन शासन व्यवस्थाको सुधारका लागि थापाले निरन्तर प्रयास गर्नुभएको बताउनुभयो ।

नेपाली राजनीतिमा निरन्तर सक्रिय स्व थापाको राजनीतिक जीवन नेपाली काँग्रेसबाटै सुरु भएको स्मरण गर्दै प्रधानमन्त्री कोइरालाले प्रत्येक परिवर्तनलाई आत्मसात् गर्दै उहाँले पछिल्ला अवस्थासम्म आइपुग्दा सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशीतालाई स्वीकार गरी दीगो शान्ति र लोकतन्त्रका लागि योगदान पुर्‍याएको चर्चा गर्नु भयो ।

पूर्व प्रधानमन्त्री एवम् एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले थापा देशको राजनीति कसरी मोडिँदैछ भन्ने कुरामा राम्रो जानकारी राख्ने व्यक्तित्व भएको बताउनुभयो ।

“देशमा दलहरुबीच सहमतिका लागि निरन्तर लागिरहेका थापाको निधनले राष्ट्रको वर्तमान सङ्क्रमणकालीन अवस्थामा क्षति पुर्‍याएको छ”–उहाँले भन्नुभयो ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली राजनीतिमा निरन्तर क्रियाशील थापाले जीवनको अन्तिम अवस्थासम्म सक्रिय भूमिका निर्वाह गरेको चर्चा गर्नुभयो । नेपालको वर्तमान सङ्क्रमणकालीन राजनीतिमा उहाँको अभाव महसुस हुने उहाँको धारणा रहेको थियो ।

पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रजातन्त्रप्रति अटुट आस्था, उदारवादी, स्पष्ट वक्ता जस्ता धेरै विशेषता स्व थापामा रहेको चर्चा गर्नुभयो ।

“एउटा अनुभवी राजनीतिज्ञका रुपमा रहेका थापाको अभाव वर्तमान सङ्क्रमणकालीन नेपाली राजनीतिमा खड्कीरहने छ,”– उहाँले भन्नुभयो ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) वरिष्ठ नेता झलनाथ खनालले आफ्नो जीवनको लामो समय नेपाली राजनीतिमा प्रभाव छाडिरहन सफल थापाले राष्ट्रमा ठुलो योगदान गर्नुभएको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले)का नेता माधवकुमार नेपालले परिवर्तनलाई स्वीकार्ने, विचारमा गतिशिल थापा आफ्नो जीवनको अन्तिम अवस्थासम्म सक्रिय बन्नुभएको उल्लेख गर्नुभयो ।

नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले स्पष्टवादी नेता थापाले विभिन्न तवरबाट राष्ट्र निर्माणमा योगदान पु¥याउनुभएको उल्लेख गर्दै उहाँको निधनले देशले ठूलो नेता गुमाएको टिप्पणी गर्नुभयो ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपाली राजनीतिमा करिब छ दशकको अनुभव सँगालेका थापाको निधनले नेपालले एउटा जिम्मेवार राजनीतिज्ञ गुमाएको उल्लेख गर्नु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले जनताको सार्वभौमिकता कायम हुन पर्छ भन्ने भावनालाई निरन्तर बोकेका थापा एक विशिष्ट राजनेता भएको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सहायक महामन्त्री भूवन पाठकले २०१४ सालदेखि सुरु भएको थापाको राजनीतिक इतिहास २०७२ साल पर्यन्त निरन्तर सक्रिय रहेको बताउनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तोरणबहादुर गुरुङले ज्यादै अनुभवी र समसामयिक राजनीतिक वातावरण बुझ्ने थापाको निधन समग्र राष्ट्रका लागि क्षति भएको धारणा राख्नुभयो । रासस

तपाईको प्रतिक्रिया