Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं– पूर्वप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक सूर्यबहादुर थापाको पार्थिव शरीर भारत सरकारको विशेष विमानद्वारा बिहिबार अपराह्न काठमाडौं ल्याइने भएको छ । काठमाडौं ल्याएपछि थापाको पार्थिव शरीरलाई उहाँको निजी निवास मालीगाउँमा शुक्रबार बिहानसम्म राखिने पार्टीका सहप्रवक्ता किरण गिरीले जानकारी दिनुभयो ।

थापाको पार्थिव शरीर शुक्रबार बिहान १० बजे पार्टी कार्यालय चावहिलमा र त्यसपछि सार्वजनिक श्रद्धाञ्जलिका लागि १२ बजे दशरथ रङ्गशालामा राखिने बताइएको छ । पूर्वप्रधानमन्त्री थापाको भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने राप्रपाले जनाएको छ ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ । बिहिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले शोकप्रस्ताव पारित गरेको हो ।

पार्टीका अध्यक्ष पशुपति शमशेर जबराको निवास महाराजगञ्जमा बसेको बैठकले पूर्वप्रधानमन्त्री एवं सभासद् थापाको बुधबार राति भारतको मेदान्त अस्पतालमा उपचारको क्रममा भएको निधनबाट पार्टीलाई गम्भीर बनाएको ठहर गरेको छ ।

सो प्रस्तावमा मुलुक संक्रमणकालमा लम्बिँदै गएको अवस्थामा सहमतिबाट यथाशीघ्र संविधान निर्माण गर्नुपर्छ भन्ने एउटा राजनेता मुलुकले गुमाएको छ, यो पार्टी र मुलुकका लागि अपूरणीय क्षति भएको छ उल्लेख गरिएको छ ।

बैठकले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासमेत गरेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सूर्यबहादुर थापाको निधनप्रति लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपाले पनि विज्ञप्ति जारी गरी समवेदना व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया