Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

इटहरी– नेपाल र भारतका नापी विभागका उच्चस्तरीय कर्मचारीको टोलीले सुनसरी र भारतको विहार राज्यसँग जोडिएको दशगजा क्षेत्रका सीमा स्तम्भको अवस्थाबारे अध्ययन अनुगमन गरेको छ ।

सुनसरी र भारतको विहार राज्यसँग जोडिएको दशगजा स्थानमा २८३ वटा जङ्गे मझौला र साना सीमा स्तम्भ रहेका छन् । कोसी ब्यारेज क्षेत्रबाट दुवै देशका नापी प्रमुख नापी अधिकृत तथा संरक्षण कर्मचारीसहितको टोलीले दशगजा क्षेत्रमा रहेका सीमा स्तम्भको अवस्था अनुगमन गरेको हो ।

विगत तीन दिनदेखि टोलीले गरेको अध्ययन अनुसार सुनसरी जिल्लाको कोसी ब्यारेज क्षेत्रको कोसी नदी र नदीले डुबान गरेका क्षेत्रमा कम्तीमा १५ देखि २० वटा सीमा स्तम्भ हराएको अवस्था देखिएको र ती सीमा स्तम्भ दुवै देशका नापी अधिकारीले निक्र्यौल गरेर निर्माणको काम हुने नापी विभागका प्रमुख नापी अधिकृत सुशील डङ्गोलले जानकारी दिनुभयो ।

विभागका प्रमुख डङ्गोलका अनुसार हरिपुरको भण्टाबारी साहेवगन्ज र कप्तानगन्जको दशगजा क्षेत्रमा दुवै देशका स्थानीयवासीले खाली दशगजा क्षेत्रमा अतिक्रमण गरेर संरचना बनाउने जस्ता कार्य भएको र ती स्थानीयले दुवै देशको सरकारले हटाउन भन्नासाथ आफूहरुले बनाएको संरचना भत्काउने सहमत भएको छ ।

अबका तीन दिनभित्रमा सुनसरी जिल्लाको सम्पूर्ण सीमाको अवस्थाका विषयमा अध्ययन अनुगमन गरी सिध्याउने र हराएका वा भत्किएका सीमा स्तम्भ मर्मत गर्ने वा बनाउनेलगायतका कामको निक्र्यौल गर्ने बताउँदै उहाँले सुनसरीमा बाँकी रहेका सीमा स्तम्भ अत्यन्तै राम्रो अवस्था रहेको पाइएको जानकारी पनि गराउनुभयो ।

तपाईको प्रतिक्रिया