Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

गोरखाबजार- एनेकपा (माओवादी) का नेता डा बाबुराम भट्टराईले गोरखा जिल्ला निर्वाचन क्षेत्र नं १ लाई नमुना निर्वाचन क्षेत्रका रुपमा विकास गर्ने अवधारणापत्र सार्वजनिक गर्नुभएको छ ।

नयाँ वर्षको अवसरमा गोरखा सदरमुकाममा पाँच पृष्ठ लामो विकासको योजनासहितको सो अवधारणापत्र भट्टराईले प्रस्तुत गर्नुभएको हो । पार्टी नेता, कार्यकर्ता, उद्योगी, व्यवसायी सहभागी रहेको भेलामा भट्टराईले तीन वर्षभित्र क्षेत्र नं १ लाई विकासका पूर्वाधार खडा गरेर देशकै ‘नमुना निर्वाचन क्षेत्रको’ रुपमा विकास गर्ने बताउनुभयो ।

सरकार, दातृ निकाय, राजनीतिक दल, गैरसरकारी सङ्घसंस्था, उद्यमी, व्यवसायी र नागरिक समाजको प्रत्यक्ष सहयोगमा विकासका योजना निर्माणसँगै लागू गरिने भट्टराईले जानकारी गराउनुभएको छ ।

“उत्पादनशील, रोजगारीमूलक, आत्मनिर्भर र दिगो कार्यक्रम ल्याएर स्थानीय बासिन्दाको जीविकोपार्जनमा सुधार ल्याउनेछौँ” अवधारणापत्र प्रस्तुत गर्दै भट्टराईले भन्नुभयो, “कृषि, गैरकृषि क्षेत्रमा लगानी वृद्धि गरेर, गाउँघरमा रहेको गरिबी, बेरोजगारी समस्या दूर गर्ने हाम्रो योजना छ ।”
युवामैत्री आधुनिक प्रविधि भित्र्याउने, सहकारीमार्फत व्यावसायिक कृषि, पशुपालन बढाउनका लागि स्थानीयस्तरबाट श्रम, सीप र पुँजीलाई परिचालन गरिने भट्टराईको भनाइ छ ।

अनिकाल समस्या भोग्दै आएका गोरखाका पाँच गाविसका चेपाङ समुदायलाई राहतको व्यवस्था मिलाउने, चेपाङ विद्यार्थी पढ्ने आवासीय विद्यालय निर्माण गर्ने, भुम्लिचोक गाविसको हिक्लुङस्थित त्रिशूली नदीमा एक वर्षभित्र झोलुङ्गे पुल निर्माण गर्ने, चेपाङ समुदाय विकास ट्रस्ट गठन गर्नेलगायतका कार्यक्रम भट्टराईले प्रस्तुत गर्नुभएको अवधारणापत्रमा उल्लेख छ ।

“जताभावी रुपमा गाउँगाउँमा सडक खन्नु हुँदैन, एक गाउँ एक पोखरी खनेर पानी सङ्कलन गर्नुपर्छ”, भट्टराईले भन्नुभयो । दलित समुदायको परम्परागत आरानबाट भाँडावर्तन बनाउने पेसालाई प्रोत्साहित गर्न कार्यक्रम ल्याउने उहाँले बताउनु भयो ।

“अपाङ्ग र चेपाङ समुदायलाई निःशुल्क कानुनी सेवा उपलब्ध गराउन वकिल साथीहरुको सहयोग लिन्छौँ” भट्टराईले भन्नुभयो, “गोरखा सदरमुकाममा रहेको सभासद्को सम्पर्क कार्यालयमार्फत स्थानीय बासिन्दाको समस्या समाधानको प्रयास गरिनेछ ।” गोरखा दरबार क्षेत्र, मनकामना क्षेत्र, दरौँदी फाँट, टार क्षेत्र, बूढीगण्डकी परियोजना क्षेत्र र घैरुङ गाउँलाई विकासको केन्द्रका रुपमा स्थापना गरिने उहाँले बताउनुभयो ।

ऐतिहासिक, सांस्कृतिक, धार्मिक पर्यटनको विकास गरी वार्षिक एक करोड आन्तरिक पर्यटक नेपाल एकीकरण गरेको भूमि गोरखामा भित्र्याउन पहल गरिने उहाँले बताउनुभएको छ ।

“सहरको ग्रामिणीकरण गर्ने कुप्रथाको विरुद्ध गाउँको सहरीकरण गर्ने नीति अवलम्बन गरेर गाउँमै सहरको सुविधा प्रदान गर्ने हाम्रो तयारी छ” भट्टराईले भन्नुभयो, “गोरखा नगरपालिकाको विस्तृत गुरुयोजना बनाएर दिगो विकासलाई कार्यान्वयन गर्नेछौँ ।”

“यी योजना लागू गर्न म एक्लैले सक्ने कुरो भएन” उहाँले भन्नुभयो, “सबै राजनीतिक दलमा आस्था राख्ने साथीहरुको सहयोग चाहिन्छ । गैरआवासीय नेपालीको पनि सहयोग चाहिन्छ ।”

नमुना क्षेत्र बनाउन भट्टराईले प्रशासन क्षेत्रमा दक्षता भएका जनकराज जोशी, जलस्रोत विज्ञ डा लक्ष्मीप्रसाद देवकोटा, जनजातिबाट पूर्वसभासद् ज्ञानेन्द्र कुमाल, त्रिविका प्राध्यापक डा लेखनाथ शर्मा, ग्रामीण विकासका दुर्गा न्यौपाने, पशु विज्ञान क्षेत्रका सीताराम अर्याल, कृषि क्षेत्रका ठाकुर देवकोटा, सहकारीका चित्रकुमार श्रेष्ठ, समाजसेवी गोवद्र्धन श्रेष्ठ, पर्यटनका गोपाल श्रेष्ठ र सागर पाण्डे, सहरी विकासका डा सुनिलबाबु श्रेष्ठ, वातावरण क्षेत्रका डा उत्तमबाबु श्रेष्ठलगायतलाई भट्टराईले आफ्नो समूहमा समावेश गरी समावेश भएका योजनालाई तीन वर्षभित्र कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । रासस

तपाईको प्रतिक्रिया