मूल्यवान टाउकाहरु, सभाहलमा सुत्दैछन रे
सहमतिको नाममा हजुर, तिनै टाउका जुध्दैछन रे
टाउका टाउका मिली हजुर, जनताहरु ठग्दैछन रे
खवरदारी गर्ने टाउका, निमोठिदै जादैछन रे
गिदी कत्ति न’भाको, जेठो टाउको घरमुली रे
भ्रष्टाचारको पन्तुर पनि, त्यही टाउकेको घरमा छ रे
सेतै सेतै फुल्या टाउको, बोली कत्ति फुट्दैन रे
यस्ता टाउकाबाट हजुर, देशले निकास पाउदैन रे
दोस्रो टाउको पनि अझै, जुहारी मै मस्त छ रे
कसले के गाँउछ भनि, उत्तर दिदै व्यस्त छ रे
कहिले यता कहिले उता, अल्ड्यान्ग बल्ड्यान्ग खादै छन रे
ताक परे ४७ साल, फेरि ल्याउने दाउमा छ रे
तेस्रो टाउको रावणको झै, टाउकै टाउका हुंदै छ रे
त्यै पनि नेपालीको, सर्वेसर्वा भन्छ रे
बहुरुपी टाउको हजुर, के के बोल्छ बोल्छ रे
नेपाललाई जातको नाममा, धुजा धुजा पार्छ रे
साना तिना टाउका हजुर, अवसरको दाउमा छ रे
धपाईएको चीज लिई, सिंहासनमा बसाउने रे
कति टाउका धोती लगाई, दक्षिणतिर झुक्दै छ रे
‘भाइ फुटे गवांर लुटे’ छिमेकी नि दाउमा छ रे
नेपाललाई निकास दिने, कुनै टाउको बाँकी छैन
नागरिक समाज पनि, स्वतन्त्र त्यो टाउको होईन
कठैबरा । नेपालको, गुलामी त्यो अन्मिएन
‘राजनेता’ गिदी भाको, टाउको पनि जन्मिएन !!!
गुल्मी मुसीकोट- ७
हाल टोकियो, जापान