काठमाडौं – म्यासेडोनियाको कोकानी सहरस्थित पल्स क्लबमा भीषण आगलागी हुँदा कम्तिमा ५१ जनाको मृत्यु भएको छ भने सयभन्दा बढी घाइते भएका छन् । राजधानी स्कोपियाबाट करिब १०० किलोमिटर पूर्वमा रहेको उक्त रात्रिक्लबमा स्थानीय समयअनुसार विहान ३ बजे आगलागी भएको हो ।
सामाजिक सञ्जालमा भाइरल भएका फुटेजहरूमा क्लब आगोको लप्काले डढेको देखिन्छ । घटनास्थलमा तत्कालै दमकल र उद्धार टोली परिचालन गरिएको थियो । प्रारम्भिक अनुसन्धानअनुसार क्लबभित्र आतिशबाजी उपकरणको प्रयोगले आगलागी फैलिएको अनुमान गरिएको छ । सार्वजनिक दृश्यहरूमा स्टेजबाट निस्किएका झिल्काहरू क्लबभित्र फैलिएको देख्न सकिन्छ ।
आगालागीको समयमा क्लबमा म्यासेडोनियाको चर्चित हिप-हप ब्यान्ड ‘एडीएन’को कन्सर्ट चलिरहेको थियो । स्थानीय अधिकारीहरूका अनुसार सो कन्सर्टमा झण्डै १,००५ जना उपस्थित थिए । गृहमन्त्री पान्स तोस्कोभ्स्कीले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिएका छन् । प्रारम्भिक अनुसन्धानका क्रममा केही व्यक्तिहरू पक्राउ परिसकेको बताइएको छ ।
प्रधानमन्त्री ह्रिस्टिजान मिकोस्कीले घटनालाई ‘राष्ट्रका लागि कठिन र दुखद दिन’ भन्दै संवेदना प्रकट गरेका छन्। उनले यस त्रासदीको कारण पहिचान गरी भविष्यमा यस्ता दुर्घटनाहरू दोहोरिन नदिन आवश्यक कदम उठाइने आश्वासन दिएका छन्। आगालागीमा घाइते भएका ९० जना कोकानीस्थित अस्पतालमा भर्ना गरिएका छन् । गम्भीर अवस्थाका केही बिरामीलाई थप उपचारका लागि राजधानी स्कोपियाको अस्पताल पठाइएको छ ।