समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौंको नागार्जुन नगरपालिका–७ स्युचाटारमा शनिबार राति एक कच्ची घरमा आगलागी भएको छ। स्थानीय कृष्णहरि श्रेष्ठको जस्ताको टहराको घरमा राति ९ः४० बजे लागेको आगो १०ः५० बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिल बोहराले जानकारी दिए ।
आगो लागेको ठाउँ साँघुरो भएकाले ठूलो दमकल छिर्न नसकेपछि सुरुमा आगो निभाउन कठिन भएको थियो। चन्द्रागिरि नगरपालिका र ललितपुर महानगरपालिकाको सानो दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीय बासिन्दाहरूले आगो निभाएका हुन्। बोहराले यसमा थप चारवटा दमकल आए पनि सडक फराकिलो नभएकोले त्यहाँ पुग्न नसकेको बताए।
यस घटनामा १५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। आगो निभाउन कालिमाटी प्रहरी वृत्तका प्रमुख रुपक खड्काको नेतृत्वमा टोली खटाइएको थियो भने स्वयम्भू वृत्तका प्रहरी टोलीले पनि सहयोग गरेको थियो। आगलागीबाट अन्न, काठको फर्निचर, लत्ताकपडा, घरायसी सामान, भाँडाकुडा र फलाम जलेको छ। प्रहरीको अनुसार, विद्युत् चुहिएर आगो लागेको अनुमान गरिएको छ।