टोकियो – विवादास्पद जापानी राजनीतिज्ञ ताकाशी ताचिबानालाई मध्य टोकियोमा आक्रमण भएको छ । जापानी राजनीतिक समूह ‘NHK पार्टी’का नेता टाचिबानामाथि टोकियोको सरकारी क्षेत्रमै एक व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गरेका हुन् ।
स्टम्प भाषण दिइरहेका बेला भएको यो हमलामा टाचिबाना गम्भीर घाइते भएका छैनन् । प्रहरीले आक्रमणकारी ३० वर्षीय ‘शिओन मियानिशीलाई हत्या प्रयासको आरोपमा घटनास्थलमै पक्राउ गरेको छ । पश्चिमी टोकियोका निवासी मियानिशीले प्रहरीलाई भने, ‘मैले उनलाई मार्ने उद्देश्यले आक्रमण गरेको हुँ ।’
प्रहरीका अनुसार हमलाकारीले टाचिबानाको टाउको नजिक प्रहार गरेका थिए, जसका कारण उनको कानलगायत भागमा गहिरो चोट लागेको छ। यो घटना ‘शुक्रबार बेलुकी ५:१० बजे जापानको अर्थ, व्यापार तथा उद्योग मन्त्रालय अगाडि भएको थियो ।
प्रहरीका अनुसार, मियानिशी टाचिबानासँग तस्वीर खिच्न लाइनमा थिए र आफ्नो पालो आउँदा उनले १६ सेन्टिमिटर लामो ब्लेड भएको हतियार निकालेर आक्रमण गरे। घटनास्थलमै हतियार बरामद गरिएको छ । टाचिबानालाई बचाउने क्रममा ३० वर्षीय एक पुरुषको बायाँ खुट्टामा चोट लागेको बताइएको छ ।
५७ वर्षीय टाचिबाना पूर्व हाउस अफ काउन्सिलर्स सदस्य हुन् । उनले जापानको सार्वजनिक प्रसारक ‘NHK विरुद्ध अभियान’ चलाउने समूहको नेतृत्व गरेका छन् । उनी विवादास्पद अभिव्यक्तिहरू तथा सामाजिक सञ्जालमा उच्च प्रभाव राख्ने नेताका रूपमा चिनिन्छन् ।
गत नोभेम्बरमा भएको ‘ह्योगो गभर्नर चुनावमा उनले पुष्टि नभएका जानकारीहरू फैलाएर उम्मेदवारको समर्थन गरेको आरोप लागेको थियो । टाचिबाना विगतमा अतिजनसंख्या नियन्त्रणका लागि नरसंहार (Genocide) नै समाधान हुन सक्छ’ भन्ने विवादास्पद अभिव्यक्ति दिइसकेका छन् ।