टोकियो – जापानी अदालतले एक पूर्व सांसदलाई बालिका बलात्कार गरेको अभियोगमा सजाय सुनाएको छ । टोकियो जिल्ला अदालतले ५८ वर्षीय तामोत्सु शीकीलाई तीन वर्ष कारावासको सजाय सुनाएको हो ।
गत अगस्टमा टोकियोको काबुकिचो मनोरञ्जन जिल्लाको एउटा काराओके पार्लरमा उनले एक जना जूनियर हाई स्कूलकी बालिकालाई बलात्कार गरेको आरोप लगाइएको थियो । टोकियो जिल्ला अदालतले शीकीलाई बलात्कारको दोषी ठहराएको छ । अभियोजन पक्षले पाँच वर्ष कारावासको सजाय माग गरेको थियो । तर शीकीले पहिले नै माफी मागिसकेको र क्षतिपूर्ति तिरिसकेकाले सजाय घटाइएको हो ।
तर अदालतका प्रमुख न्यायाधीश चिकाको मुराताले शीकीले निन्दनीय अपराध गरेको बताइन् । उनले पीडितको मानसिक र शारीरिक असरलाई हल्का मान्न नमिल्ने बताइन् । अभियोग अनुसार, शीकीले गत २०२४ अगस्ट २० का दिन काबुकिचो मनोरञ्जन जिल्लाको एउटा काराओके पार्लरमा जूनियर हाई स्कूलकी पहिलो वर्षकी बालिकालाई बलात्कार गरेका थिए ।
शीकी पहिलो पटक २०१२ मा प्रतिनिधि सभामा निर्वाचित भएका थिए, जसमा उनले समानुपातिक प्रतिनिधित्वबाट सिट जितेका थिए । उनले दुई पटक प्रतिनिधि सभा सदस्यको रूपमा सेवा गरिसकेका छन् ।