समाचार सुन्नुहोस :
काठमाडौँ – सहारा बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवन जिल्ला अदालतले हिरासतमा राख्न आदेश दिएको छ। बुधबार चितवन जिल्ला अदालतमा लामिछानेको मुद्दामा बहस नसकिएपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई हिरासतमा पठाउने आदेश दिएको हो। अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार थुनछेक बहस नसकिएकाले बिहीबार पुनः उपस्थित गराउने गरी प्रहरीमार्फत हिरासतमा राखिएको छ।
सहारा सहकारीको ३८ करोड ९ लाख रुपैयाँ ठगीको आरोपमा लामिछानेसहित ३२ जनाविरुद्ध मंगलबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। उक्त प्रकरणमा १२ जनालाई संगठित अपराध र ठगी मुद्दा लगाइएको छ भने अन्य २० जनाविरुद्ध ठगी सम्बन्धी मुद्दा मात्र चलाइएको छ।
लामिछाने बुधबार नै अदालतमा हाजिर भएका थिए। त्यहाँ न्यायाधीश दयाराम ढकालको इजलासमा उनको बयान लिइयो। अब बिहीबारदेखि थुनछेक बहस सुरु हुने भएको छ।