समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकी सेनाको एक विमानले आवश्यक कागजातबिना अमेरिकामा रहेका भारतीय नागरिकलाई लिएर अमृतसरको गुरु रविदास अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएको छ। डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालपछि यो पहिलो पटक भारतीयहरूलाई अमेरिकाबाट औपचारिक रूपमा डिपोर्ट गरिएको हो। सुरक्षा अधिकारीहरूले बीबीसीका पत्रकार रविन्दर सिंह रोबिनलाई जनाएअनुसार सूचीमा रहेका व्यक्तिहरूमा कुनै आपराधिक पृष्ठभूमि छैन।
पञ्जाबका एनआरआई मामिला मन्त्री कुलदीप सिंह धालिवालले यस विषयमा जानकारी दिँदै घटनालाई गम्भीर रूपमा लिएको बताए। उनले आफ्नो फेसबुक पोस्टमार्फत अमृतसर विमानस्थलमा २०५ भारतीयहरू आउने र उनीहरूलाई स्वागत गर्ने बताएका छन्। साथै, अमेरिकी सरकारको निर्णयप्रति असन्तोष व्यक्त गर्दै उनले यी व्यक्तिहरू प्रारम्भमा वैध श्रम स्वीकृति लिएर अमेरिका गएका भए पनि अनुमति अवधि सकिएपछि अवैध आप्रवासीको रूपमा चिनिन पुगेको दाबी गरे।
रविन्दर सिंह रोबिनका अनुसार अमृतसरमा अवतरण गरेपछि केहीलाई प्रहरीका गाडीमार्फत उनीहरूका गाउँसम्म पुर्याइनेछ भने अन्यलाई हवाई मार्गबाट उनीहरूको गन्तव्यमा पठाइनेछ। सञ्चारकर्मीलाई विमानस्थलभित्र प्रवेश गर्न रोक लगाइए पनि बाहिर उनीहरूले आगन्तुकहरूसँग संवाद गर्न सक्नेछन्।