समाचार सुन्नुहोस :
काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रुपाताल संरक्षणसम्बन्धी कार्य छिटो सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। मन्त्री खड्काले सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीद्वारा सञ्चालन भइरहेको रुपाताल संरक्षण परियोजनाको निरीक्षण गर्दै गुणस्तरीय र समयमा पूरा हुने गरी कार्य अघि बढाउन आग्रह गरे। उनले रुपाताल ऐतिहासिक महत्त्व बोकेको बताउँदै, आवश्यक जनशक्ति थपेर योजनालाई शीघ्र सम्पन्न गर्न निर्देशन दिए। साथै, उनले बजेट अभाव हुन नदिन मन्त्रालयले समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे।
हाल रुपातालमा पाँच सय ९० मिटर माटो र ४५ मिटर कङ्क्रिटको बाँध निर्माण कार्य भइरहेको छ। संरक्षणपछि तालको क्षेत्रफल एक सय २२ हेक्टरबाट एक सय ८३ हेक्टर पुग्नेछ। साथै, तालको वरपर पैदलमार्ग निर्माणका लागि एक हजार एक सय रोपनी जग्गा अधिग्रहण गर्नुपर्नेमा हालसम्म नौ सय रोपनी जग्गा अधिग्रहण भइसकेको आयोजनाका प्रमुख विदुरमान श्रेष्ठले जानकारी दिए।
मन्त्री खड्कासँगै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार, केन्द्रीय सदस्य यज्ञबहादुर थापालगायतको उपस्थिति रहेको थियो।