समाचार सुन्नुहोस :
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय सहायता एजेन्सी, यूएसएड, बन्द गर्ने घोषणा गरेका छन्। ट्रम्प प्रशासनले यूएसएडलाई परराष्ट्र मन्त्रालयमा गाभ्ने योजना अघि सारेको छ। राष्ट्रपति ट्रम्पले ९० दिनका लागि सबै प्रकारका विदेशी सहायता निलम्बन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। बीबीसीका अनुसार, विदेश नीतिको पुनरावलोकन नभएसम्म यो प्रतिबन्ध जारी रहनेछ।
विदेशमन्त्री मार्को रुबियोले पत्रकार सम्मेलनमार्फत यूएसएड बन्द गर्ने निर्णयको औपचारिक घोषणा गरेका थिए। उनले आफू एजेन्सीको कार्यवाहक प्रमुखको भूमिकामा रहेको जानकारी पनि दिएका छन्। यसअघि, अमेरिकी सरकारले सहायता एजेन्सीका कर्मचारीहरूलाई वाशिंगटन डीसीस्थित मुख्यालयमा नआउन र घरबाटै काम गर्न आदेश दिएको थियो। यूएसएडले नेपालसहित विभिन्न देशहरूमा अरबौं डलरको सहायता प्रदान गर्दै आएको थियो। यस निर्णयले स्वास्थ्य, पोषण र विकाससम्बन्धी थुप्रै कार्यक्रमहरूमा प्रत्यक्ष प्रभाव पार्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ. केनेडीद्वारा स्थापना भएको यूएसएडमा हाल करिब १० हजार कर्मचारी कार्यरत छन्। यस संस्थाको वार्षिक बजेट ४० अर्ब डलर रहेको छ भने अमेरिकी वैदेशिक सहायताको कुल बजेट ६८ अर्ब डलर छ। यूएसएडले युक्रेन, इथियोपिया, जोर्डन, कङ्गो, सोमालिया, यमन, अफगानिस्तान, बंगलादेश, म्यानमार, नाइजेरिया, दक्षिण सुडान, सिरिया लगायतका मुलुकहरूलाई सहयोग गर्दै आइरहेको थियो।