टोकियो – टोकियोमा महिलाहरूलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइएको आरोपमा ७ जना पक्राउ परेका छन् । शिन्ज्युकुको खाबुकिचोमा मनोरञ्जन तथा रात्री व्यवसाय क्षेत्रमा मुख्यतः जापान भ्रमण गर्ने विदेशी पर्यटकलाई लक्षित गरी महिलाहरूलाई जबर्जस्ती यौन व्यवसायमा संलग्न गराएको आरोपमा ७ पुरुषलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार, शिन्ज्युकुको खाबुकिचोमा सार्वजनिक भएको पछिल्लो घटना जापानमा ठूलो स्तरको यौन व्यवसाय सञ्चालन भएको उजागर गरिएको घटना हो । यो विशेष रूपमा विदेशी पर्यटकहरूलाई लक्षित गरेर सञ्चालन गरिएको थियो ।
पक्राउ परेका सातजना मध्ये ५४ वर्षीय काजुकी सुदो पनि रहेको टोकियो मेट्रोपोलिटन प्रहरी विभागले जनाएको छ । उनी SPARAKU नामक सैलुनका प्रबन्धक हुन् । उनलाई गत आइतबार पक्राउ गरिएको थियो । उनीमाथि गएको वर्ष अक्टोबरदेखि नोभेम्बरसम्म जापानको यौन व्यवसाय विरोधी कानून उल्लङ्घन गरेको आरोप छ ।
सुदोले सैलुनलाई ‘जापानी महिलाहरूबाट सस्तो मूल्यमा यौन सेवा उपलब्ध गराउने’ भनेर विदेशीहरूलाई लक्षित गरी प्रचार गरेको खुलेको छ । अनुसन्धानका क्रममा उनीबाट चिनियाँ, भारतीय, अर्जेन्टिनी मुद्रा लगायतका विदेशी नोटहरू पनि बरामद गरिएको प्रहरीको भनाइ छ । ***