समाचार सुन्नुहोस :
काठमाडौँ – सरकारी वार्ता टोली र ‘नो केबलकार समूह’बीचको वार्ता मंगलबार पनि निरन्तर जारी रहने भएको छ। सोमबार ललितपुरको होटल हिमालयमा सुरु भएको वार्ता केही बुँदामा सहमति नजुटेपछि मंगलबार बिहान ११ बजे पुनः बस्ने गरी स्थगित गरिएको थियो।
संघीय सरकारका प्रतिनिधि र आन्दोलनरत समूहबीच पहिलोपटक छलफल भएको हो। वार्ताको पहिलो चरणमा आन्दोलनका क्रममा पक्राउ परेका तीनजनाको रिहाइ, केबलकार निर्माण कार्य स्थगित गर्ने र आन्दोलनका कार्यक्रम फिर्ता लिने विषयमा छलफल भएको थियो। प्रहरी नियन्त्रणमा रहेका तीनजना बन्दी रिहा गर्ने सरकार सहमत भए पनि निर्माण कार्य रोक्न अस्वीकार गरेपछि वार्ता बिना निष्कर्ष टुंगिएको हो।
वार्ता जारी रहेकै कारण आन्दोलनरत समूहले यातायात बन्दको कार्यक्रम कायमनै राखेको छ। आन्दोलनका अगुवा नवीन पोमुका अनुसार, सोमबारदेखि अरुण पूर्वका नौ जिल्लामा आम हड्तालको कार्यक्रम तय गरिएको थियो। “वार्ता चलिरहेका कारण हड्ताल स्थगन गरिएको छ, तर यातायात बन्द कायमै रहेको छ,” पोमुले बताए।
स्थानिय जनप्रतिनिधि र राजनीतिक दलहरूले वार्तामार्फत समाधान खोज्न आग्रह गरेका छन्। आन्दोलन राजधानीसम्म प्रवेश गरेसँगै संघीय सरकारसँगको वार्ता पनि केन्द्रित हुन थालेको छ। आन्दोलनरत पक्षले सरकार लचिलो बन्ने र जनजीवन सहज बनाउन सहयोग पुर्याउने कुरामा आशावादी रहेको प्रतिकृया दिएका छन् ।