काठमाडौं – अवैध शारीरिक सम्बन्ध थाहा पाएपछि प्युठानको गौमुखी गाउँपालिका-५ का ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीले गौमुखी गाउँपालिका-५ का ५१ वर्षीय लोकबहादुर गिरी र सोही ठाउँ बस्ने ५० वर्षीया जेदुकुमारी न्यौपानेलाई आइतबार सार्वजनिक गरेको हो ।
उनीहरू नाताले ज्वाइँ-सासु हुन् । लोकबहादुर जेदुकी बहिनीका श्रीमान् हुन् । उपाध्यायलाई लोकबहादुर र जेदु कुमारीले ढुङ्गा र बन्दुकको बटले हानेर हत्या गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ । प्युठान प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक केशव केसीका अनुसार यही माघ १९ गतेको बिहान गौमुखी गाउँपालिका-५ उपल्लो फुर्सेधारास्थित खुङ्ग-नारिकोट जोड्ने कच्ची भित्री सडकमा उपाध्याय मृत अवस्थामा भेटिएका थिए ।
टाउको, अनुहार, नाक र मुखमा गहिरो चोट र रगताम्मे अवस्थामा फेला परेको शवको अनुसन्धान गर्ने क्रममा प्रहरीले अवैध सम्बन्ध लुकाउन वृद्धको हत्या गरेको निष्कर्ष निकालेको छ । रोजगारीका सिलसिलामा श्रीमान भारतमा र छोराछोरी सबैको विवाह भइसकेका कारण घरमा जेदुकुमारी एक्लै बस्दै आएकी थिइन् । उनले सुरुमा चिन्तामणिसँग सम्वन्ध बनाएकी थिइन् । चिन्तामणिसँग प्रेममा हुँदा जेदूको सम्बन्ध आफ्नै ज्वाइँ लोकबहादुरसँग पनि थियो । श्रीमान भारतमा रहेको बेला यौन प्यास मेटाउन जेदूले प्रेमीसँग यौन सम्बन्ध बनाउँदै आएको अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ ।
एक वर्षअघि लोकबहादुरलाई आफ्नै घरमा बोलाएर जेदु यौन क्रियाकलापमा मस्त थिइन् । दुवै जना एकै ठाउँ सुतेको देखेपछि चिन्तामणिले चुकुल लगाएर थुनेका थिए । उनले कोठामा थुनेर गाउँले बोलाएका समेत थिए । त्यही रिसइबीको बदला लिन जेदु र लोकबहादुरले हत्या योजना बुनेको अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक केसीले जानकारी दिए। हत्यापछि प्युठान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसी आफै घटना अनुसन्धानमा खटिएका थिए ।
प्रहरीले घटना भएको २४ घण्टा नबित्दै जेदुलाई आफ्नै घरबाट र लोकबहादुरलाई भागेको अवस्थामा जङ्गलबाट पक्राउ गरिएको प्रहरी निरीक्षक केसीले जानकारी दिए । उनीहरूबीचको त्रिकोणात्मक सम्बन्ध, मदिरा सेवन र पुरानो रिसइबीका कारण हत्या भएको प्रहरी निष्कर्ष छ ।