समाचार सुन्नुहोस :
काठमाडौँ – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन वसन्त पञ्चमी पर्व हर्षोल्लासका साथ मनाइन्छ। यस दिन विशेष गरी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गरिन्छ, जसलाई भक्तजनहरूले ज्ञान र सिर्जनाको देवीका रूपमा आराधना गर्छन्। पूजा आराधनासँगै वसन्त श्रवण गर्ने परम्परा पनि रहिआएको छ।चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
ज्ञान र सिर्जनासँग सम्बन्धित भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीहरूले आआफ्ना कला साधनाका वस्तुहरू – कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीको प्रतीकका रूपमा पूजा गर्छन्। साथै, तान्त्रिकहरूले तन्त्रसिद्धिका लागि उनलाई तारादेवीका रूपमा आराधना गर्ने परम्परा छ। सूर्य उत्तरतर्फ लागेसँगै दिनहरू लामो हुने तथा वसन्त ऋतुको आगमन हुने विश्वासले गर्दा यो पर्वलाई ‘वसन्त पञ्चमी’ नामले चिनिन्छ।
ऋग्वेदमा ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीलाई वाग्देवीका रूपमा वर्णन गरिएको छ। जसको पूजा उपासनाले ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ। यसै कारण, वसन्त पञ्चमीको दिन सरस्वती पूजा गर्न तथा विद्यारम्भ गर्न अत्यन्त शुभ मानिन्छ। यस अवसरमा सरस्वतीको कृपा प्राप्त गरेमा सर्वसिद्धि मिल्ने विश्वास गरिन्छ।