काठमाडौं – बलिउड चर्चित गायक उदित नारायण झा अहिले चर्चामा आएका छन् । उनी एक कन्सर्टमा भएको कन्ट्रोवर्सीका कारण एकाएक चर्चामा आएका हुन् ।
अहिले सामाजिक सञ्जालमा उनको एक भिडिओ भाइरल भइरहेको छ । उक्त भिडियोमा उनले आफ्नो कन्सर्टमा आएकी एक महिला फ्यानलाई ओठमा चुम्बन गरेका छन् । सो भिडिओ बाहिरिएपछि सामाजिक सञ्जालमा अहिले उनको आलोचना भइरहेको छ ।
हिन्दुस्तान टाइम्सलाई दिएको एक अन्तर्वार्तामा उनले आफ्नो बचाउ गरेका छन् । यसबारे उदितले भनेका छन् ‘फ्यानमा यति धेरै पागलपन छ । हामी यस्तो छैनौँ, हामी सभ्य छौं । केही मानिसहरूले यसलाई प्रोत्साहित गर्छन् र यसको माध्यमबाट आफ्नो माया व्यक्त गर्छन् । यस्तो कुरालाई उडाएर के गर्नु’ उनले भने ‘भिडमा धेरै मानिस थिए र हामीसँग अङ्गरक्षक पनि थिए । फ्यानले हामीलाई भेट्ने मौका पाउनुपर्छ जस्तो लाग्छ । त्यसैले यस्तो अवस्थामा कोही हात मिलाउन हात फैलाउँछन्, कोही हात चुम्बन गर्छन् । यो सब क्रेज हो, यसमा त्यति ध्यान दिनुहुन्न ।’
यो पनि : लाइभ कन्सर्टमा युवतीलाई चुम्बन गरेपछि उदितनारायण विवादमा
उनले आफू ४६ वर्षदेखि बलिउडमा रहेको बताउँदै आफ्नो छवि त्यस्तो नरहेको बताए । उनले भने ‘म ४६ वर्षदेखि बलिउडमा छु, मेरो छवि यस्तो छैन कि म फ्यान्सलाई जबरजस्ती चुम्बन गरूँ ।’