समाचार सुन्नुहोस :
काठमाडौँ – चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो छ महिनामा (साउनदेखि पुस) ७ खर्ब ६३ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। पछिल्लो २५ महिनादेखि मासिक रूपमा एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिने क्रम निरन्तर छ। पुस महिनामा मात्र एक खर्ब २२ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ। जुन मंसिर महिनाको तुलनामा वृद्धि भएको हो। मंसिरमा मासिक रूपमा एक खर्ब १८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो।
गत आर्थिक वर्ष २०८०–८१ को पहिलो छ महिनामा (साउनदेखि पुस) ७ खर्ब ३३ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। यस आर्थिक वर्षको पहिलो छ महिनामा चार अर्ब २७ करोड रूपैयाँ रेमिटेन्स बाहिरिएको छ। जबकि गत वर्षको सोही अवधिमा चार अर्ब आठ करोड रूपैयाँ बाहिरिएको थियो।
यस अवधिमा वैदेशिक रोजगारीमा जानेको संख्या गत आर्थिक वर्षको तुलनामा १५.४९ प्रतिशतले वृद्धि भएको छ। गत वर्ष तीन लाख ४० हजार जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष यो संख्या बढेर तीन लाख ९३ हजार पुगेको छ।