काठमाडौं – राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना देशमा उत्पादित सामाग्रीहरूमा थप २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेपछि क्यानडा र मेक्सिकोले पनि त्यस्तै कर अमेरिकी उत्पादनहरूमा समेत लगाउने घोषणा गरेका छन् ।
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकामा उत्पादित १५५ अर्ब डलर बराबरका सामाग्री आयात गर्दा २५ प्रतिशत भन्सार लगाइने घोषणा गरेका हुन् । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए । त्यसपछि मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनाबाउमले अमेरिकामाथि पनि त्यस्तै प्रकारको शुल्क आफ्नो मुलुकले लगाउने बताएकी थिइन् ।
चीनले व्यापार युद्धमा कसैले नजित्ने भन्दै राष्ट्रिय स्वार्थ रक्षामा आफू प्रतिबद्ध रहेको जनाएको छ । ह्वाइटहाउसका अनुसार राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको आदेशले क्यानडा र मेक्सिकोबाट आयात गरिने वस्तुमा २५ प्रतिशत र चीनबाट आयात गरिने वस्तुमा १० प्रतिशत शुल्क लगाएको छ । तर क्यानडाबाट हुने ऊर्जा आयातमा भने १० प्रतिशत शुल्क घोषणा गरिएको छ ।
सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा ट्रम्पले गैरकानुनी आप्रवासन र घातक लागुऔषधको खतराका कारण आफूले आपत्कालीन आर्थिक शक्तिको प्रयोग गरेको उल्लेख गरेका छन् । उनले चीनले फेन्टनिल (औषधि)लाई प्रयोग हुन दिएको र मेक्सिको र क्यानडाले सीमा वारपार हुने आप्रवासन रोक्न पर्याप्त कदम नचालेको आरोप लगाए । अर्थविद्हरूले राष्ट्रपति ट्रम्पको कदमले अमेरिकामा खाद्यान्न र इन्धनको मूल्य वृद्धि गराउनसक्ने र क्यानडा र मेक्सिकोलाई मन्दीतर्फ धकेल्नसक्ने चेतावनी दिएका छन् ।
क्यानडाले के भन्यो ?
क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकामा उत्पादित १५५ अर्ब डलर बराबरका वस्तुमा आफ्नो मुलुकले २५ प्रतिशत आयात शुल्क लगाउने निर्णय लिएको बताएका छन् ।
उनले यसले ‘लामो समय असर पुर्याउने’ भन्दै अमेरिकामा उत्पादित बियर, वाइन, फलफूल र जुस, तरकारी, लत्ताकपडा र जुत्ताजस्ता वस्तुमा उक्त शुल्कको असर पर्ने बताए । त्यसबाहेक फर्निचर र खेलकुद सामाग्री अनि संवेदनशील खनिज, ठेक्कापट्टा क्षेत्रमा पनि असर पुग्ने उनले उल्लेख गरेका थिए ।
उनले आउँदा दिन क्यानडा र अमेरिकीका नागरिकहरू लागि अप्ठेरा हुनसक्ने बताए । अमेरिकी कदम र त्यसको प्रतिवादमा आफ्नो मुलुकले लिएको निर्णयले दुवैतर्फका नागरिक र कामदारलाई असर पार्ने उनको भनाइ छ । ‘हामी यस्तो स्थितिमा हुन चाहन्न थियौँ, हामीले यो मागेको पनि होइन,’ उनले भने, ‘तर हामी क्यानडाको नागरिकको पक्षमा उभिनबाट पछि हट्दैनौँ ।’ -बीबीसी